काँकरभिट्टामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

काठमाडौं, ९ असार । पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ।

सोमबारदेखि पुनः सञ्चालनमा आएको उक्त एकाइमार्फत मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै स्थानबाट संयुक्त रूपमा यात्रु तथा सामानको जाँच गर्ने व्यवस्था मिलाइएको छ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएर क्षति पुगेपछि करिब १० महिनादेखि बन्द रहेको एकीकृत जाँच प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो।

मेचीनगर–६ स्थित काँकरभिट्टा नाका भारतको पश्चिम बंगालअन्तर्गत दार्जिलिङ जिल्लाको पानीट्यांकीसँग जोडिएको नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार हो। यहाँ दैनिक हजारौँ यात्रु आवतजावत र ठूलो परिमाणमा मालवस्तु ओसारपसार हुने भएकाले एकीकृत जाँच प्रणाली आवश्यक मानिँदै आएको थियो।

यसअघि भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीले एउटै स्थानबाट संयुक्त रूपमा जाँच गर्दा चोरी–तस्करी नियन्त्रणमा सहयोग पुगेको र यात्रु सेवा सहज भएको थियो। तर गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा संरचनामा आगजनी भएपछि प्रणाली अवरुद्ध भएको थियो।

हाल जाँचस्थलमा ‘एक्स–रे’ मेसिन भने जडान गरिएको छैन। सम्बन्धित निकायले आवश्यक प्रक्रिया पूरा गरी छिट्टै पुनः सञ्चालनमा ल्याइने जनाएको छ।

एकीकृत प्रणाली पुनः सुरु भएसँगै भन्सार छली नियन्त्रण, अवैध ओसारपसार रोकथाम तथा यात्रु सेवामा सुधार आउने अपेक्षा गरिएको छ। एउटै स्थानमा सेवा प्राप्त हुने भएकाले समय बचत र प्रशासनिक झन्झट घट्ने मेची भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्