नेपालमा सौन्दर्य प्रसाधन आयातमा उल्लेख्य वृद्धि, १२ अर्बभन्दा बढी बाहिरियो
काठमाडौं, असार ९ — नेपालमा चालु आर्थिक वर्षको ११ महिनामा सौन्दर्य प्रसाधन (कस्मेटिक) सामग्रीको आयात उल्लेख्य रूपमा बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म लिपस्टिक, फेस क्रिम, कपाल स्याहार सामग्री लगायत विभिन्न कस्मेटिक वस्तु आयातमा करिब १२ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ बाहिरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात करिब ११ अर्ब २८ करोड २७ लाख रुपैयाँ थियो।
यसरी हेर्दा एक वर्षको अवधिमा कस्मेटिक सामग्री आयात करिब १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको देखिन्छ।
तथ्यांकअनुसार लिप मेकअप (लिपस्टिक लगायत) आयात ५९ करोड ३७ लाखबाट बढेर ७१ करोड ७४ लाख रुपैयाँ पुगेको छ। फेस क्रिम आयात १ अर्ब १६ करोड ४७ लाखबाट बढेर १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने बडी लोशनको आयात पनि ६६ करोड ३ लाखबाट बढेर ७२ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, “अन्य ब्युटी तथा मेकअप” श्रेणीमा सबैभन्दा धेरै खर्च भएको देखिएको छ, जसमा आयात ४ अर्ब ३ करोड ५१ लाखबाट बढेर ४ अर्ब ४७ करोड २ लाख रुपैयाँ पुगेको छ।
नेल पोलिस र मेनिक्योर–पेडिक्योर सामग्रीको आयात पनि बढेको छ भने पेट्रोलियम जेलीको आयात २ करोड ८७ लाखबाट बढेर ७ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
तर, सिन्दूर, फेस पाउडर, स्याम्पु, कन्डिसनर र हेयर क्रिम जस्ता केही सामग्रीको आयात भने घटेको देखिएको छ।
समग्रमा, अधिकांश सौन्दर्य प्रसाधनको आयात बढेसँगै नेपालमा यस्ता वस्तुमा हुने विदेशी खर्च पनि निरन्तर बढ्दै गएको तथ्यांकले देखाएको छ।









प्रतिक्रिया दिनुहोस्