कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको शिक्षा मन्त्रालयको दाबी 

काठमाडौं, ९ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ।

मंगलबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेल ले कक्षा १२ को नतिजामा त्रुटि तथा लापरबाही भएको भन्ने आरोपलाई केवल प्रचारबाजी भएको बताएका हुन्।

सचिव पौडेलका अनुसार शिक्षकहरूलाई थप जिम्मेवार बनाइएकाले यस वर्ष ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत बढेको छ भने नतिजा पनि छिटो प्रकाशन गर्न सफल भएको मन्त्रालयको दाबी छ। उनले मन्त्रालयले नतिजा प्रकाशन प्रक्रियाबारे अध्ययन गर्दा कुनै त्रुटि फेला नपरेको र उत्तरपुस्तिका परीक्षण इमानदारीपूर्वक गरिएको जानकारी दिए।

बैठकमा उनले विश्वविद्यालयमा पदाधिकारी नियुक्ति सम्बन्धी प्रक्रिया सम्बन्धित ऐनमा व्यवस्था भएअनुसार नै सञ्चालन भइरहेको बताए। साथै, नेपाल खुला विश्वविद्यालय मा स्थायी शिक्षक नियुक्तिको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरे।

सचिव पौडेलले हाल नेपालका विभिन्न विश्वविद्यालयहरूमा करिब १ हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। विदेशी विद्यार्थीका लागि भिसा प्रक्रियालाई सहज बनाउन गृहमन्त्रालय सँग छलफल भइरहेको पनि उनले बताए।

चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा वृद्धि गर्न सरकार नीतिगत निर्णयको तयारीमा रहेको उनको भनाइ छ।

सचिव पौडेलले स्वदेशमा अध्ययन पूरा गरेपछि पर्याप्त रोजगारीका अवसर नहुँदा नेपाली विद्यार्थीहरू विदेश अध्ययनतर्फ आकर्षित भइरहेको बताए। उनले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै त्यसो गर्न सके विद्यार्थीहरूलाई स्वदेशमै अध्ययन र काम गर्न प्रोत्साहित गर्न सकिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्