अन्तर्राष्ट्रिय बजारमा बढ्यो भोजपुरको अर्ग्यानिक कफीको माग, षडानन्दलाई ‘कफी हब’ बनाउने तयारी
काठमाडौं, ९असार । अन्तर्राष्ट्रिय बजारमा अर्ग्यानिक कफीको माग बढ्दै गएपछि भोजपुरको षडानन्द नगरपालिकाका किसानहरू व्यावसायिक कफीखेतीतर्फ आकर्षित भएका छन्। परम्परागत खेती छाडेर नगदेबालीका रूपमा कफीखेती रोजेका किसानले राम्रो आम्दानी गर्न थालेपछि यस क्षेत्रको कफी उत्पादनले नयाँ सम्भावना देखाएको छ।
षडानन्द नगरपालिका–११ का कृषक जीवन थापाले ६५ रोपनी क्षेत्रफलमा कफीखेती विस्तार गरेका छन्। उनले उत्पादन गरेको कफी स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएको छ। थापाका अनुसार हालसम्म करिब एक हजार किलोग्राम कफी विदेश निर्यात भइसकेको छ।
उनले कच्चा दाना बिक्री गर्नुको सट्टा आफ्नै प्रशोधन उद्योगमार्फत मूल्यवर्द्धन गरी बिक्री गर्दै आएका छन्। “कच्चा दाना मात्र बेच्नुभन्दा प्रशोधन गरेर बिक्री गर्दा मूल्य दोब्बरजस्तै प्राप्त हुन्छ,” थापाले भने।
कफीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि अन्य किसान पनि यसतर्फ आकर्षित भएका छन्। स्थानीय कृषक प्रितमकुमार राईले कफीलाई दीर्घकालीन आम्दानीको भरपर्दो स्रोतका रूपमा लिनुपर्ने बताए। “एकपटक रोपिएको कफीले वर्षौंसम्म उत्पादन दिन्छ, त्यसैले यो टिकाउ खेती हो,” उनले भने।
स्थानीय कृषक सङ्गीता राईले नगरपालिकाबाट बिरुवा, मल तथा कृषि उपकरण प्राप्त भएपछि खेती गर्न सहज भएको बताइन्। उनका अनुसार कफीखेतीमा महिलाको सक्रिय सहभागिताले महिला सशक्तीकरणमा समेत टेवा पुगेको छ।
वैदेशिक रोजगारीबाट फर्किएका कृषक मुक्ति राईले विदेशमा श्रम गर्नुको सट्टा गाउँमै मिहिनेत गरेर कफीखेतीबाट राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाए।
गरिबी न्यूनीकरण तथा कृषिको व्यवसायीकरणलाई प्राथमिकतामा राख्दै षडानन्द नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा करिब तीन करोड रुपैयाँ बराबरको प्राङ्गारिक कफीखेती विस्तार तथा व्यवसायीकरण परियोजना सञ्चालन गरेको छ। आयआर्जन वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा स्थानीय उत्पादनको ब्रान्डिङ गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो।
नगरपालिकाले यस कार्यक्रमका लागि एक करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। किसानको लागत साझेदारीसमेत जोड्दा परियोजनाको कुल आकार दुई करोड ८९ लाख रुपैयाँ पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद दाहालले जानकारी दिए।
उनका अनुसार सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गरिएको परियोजनाले उत्पादन र बजारबीचको दूरी घटाउने तथा आगामी पाँच वर्षभित्र षडानन्दलाई ‘कफी हब’ का रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
कृषि शाखा प्रमुख शिला पुन मगरका अनुसार परियोजनाको पहिलो चरणमा १५७ जना किसान प्रत्यक्ष लाभान्वित हुनेछन्। उनीहरूलाई ७५ हजार कफी बिरुवा, ५ एचपी क्षमताका ११३ वटा तथा ७ एचपी क्षमताका ५० वटा मिनीटिलर, २० वटा ब्रस कटर, २५७ वटा स्प्रेयर र १६ वटा सिकेचर उपलब्ध गराइनेछ।
त्यसैगरी खेतीलाई पूर्ण रूपमा प्राङ्गारिक बनाउन २२ हजार ६२० किलोग्राम गोठेमल, २१ हजार ३६० किलोग्राम हड्डी मल, ८६ लिटर खनिज तेल, १०० लिटर बोर्डो पेस्ट तथा ३३ लिटर इएम उपलब्ध गराइने कार्यक्रम रहेको छ।
नगरप्रमुख सुरेन्द्रकुमार उदासले कृषि क्षेत्रको व्यवसायीकरण तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि कफीखेती विस्तार कार्यक्रम सञ्चालन गरिएको बताए। “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको अध्ययन गर्दा कफीको सम्भावना निकै राम्रो देखिएको छ। त्यसैले किसानलाई प्रोत्साहन गर्दै लगानी बढाएका हौँ,” उनले भने।
नगर उपप्रमुख प्रमिला राईका अनुसार कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नेछ। नगरपालिकाले सामग्री वितरणसँगै बिरुवा रोप्ने विधि, रोग व्यवस्थापन तथा उत्पादनपछिको व्यवस्थापनसम्बन्धी तालिमसमेत सञ्चालन गर्ने जनाएको छ।
समुद्री सतहबाट ८०० मिटरदेखि १ हजार ८०० मिटरसम्मको उचाइ कफीखेतीका लागि उपयुक्त मानिन्छ। षडानन्द नगरपालिकाका १४ वडामध्ये १३ वटामा कफीखेती विस्तार भइरहेको छ। कफी उत्पादनलाई कृषि पर्यटनसँग जोडेर ‘एग्रो टुरिज्म’ को अवधारणामा विकास गर्ने सम्भावना पनि देखिएको छ।
प्राविधिक सेवा विस्तार, बजार मूल्यको स्थिरता तथा जलवायु परिवर्तनका चुनौती व्यवस्थापन गर्न सके षडानन्द नगरपालिका देशकै प्रमुख कफी उत्पादन केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्