कक्षा १२ को नतिजामाथि विद्यार्थीको प्रश्न, निष्पक्ष पुनःपरीक्षणको माग
काठमााडौं, ८ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको केही दिनमै नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। नतिजा अस्वाभाविक, त्रुटिपूर्ण र मिहिनेतअनुसार नभएको भन्दै उनीहरूले निष्पक्ष मूल्याङ्कन तथा पुनःपरीक्षणको माग गरेका छन्।
विद्यार्थीहरूका अनुसार विद्यालयस्तरका परीक्षामा निरन्तर उत्कृष्ट नतिजा हासिल गरेका धेरै परीक्षार्थीले बोर्ड परीक्षामा अपेक्षाभन्दा निकै कम श्रेणी प्राप्त गरेका छन्। कतिपयले अंग्रेजी र भौतिक विज्ञानजस्ता विषयमा कम श्रेणी प्राप्त गरेको वा अनुत्तीर्ण भएको गुनासो गरेका छन्।
आन्दोलनमा सहभागी विद्यार्थीहरूले आफूले अधिकांश प्रश्नको सही उत्तर लेख्दा पनि नतिजा सन्तोषजनक नआएको दाबी गरेका छन्। उत्तरपुस्तिका परीक्षण प्रक्रियामा लापरबाही भएको आशंका व्यक्त गर्दै उनीहरूले पारदर्शी छानबिनको माग गरेका छन्।
विद्यार्थीहरूले पुनर्योग र पुनःपरीक्षणका लागि तोकिएको शुल्क पनि अत्यधिक रहेको बताएका छन्। हाल पुनर्योगका लागि एक हजार रुपैयाँ र पुनःपरीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था रहेको छ। आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीका लागि यो शुल्क थप बोझ बनेको उनीहरूको भनाइ छ।
न्यायको माग गर्दै प्रशासन र सम्बन्धित निकायमा पुगेका विद्यार्थीहरूले आफ्ना गुनासा सुनुवाइ नभएको आरोप लगाएका छन्। उनीहरूले निष्पक्ष मूल्याङ्कन, पारदर्शी प्रक्रिया र उत्तरपुस्तिकाको पुनः परीक्षणको व्यवस्था गर्न माग गरेका छन्।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा एक लाख चार हजार सात सय ११ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्। साथै ३८ जनाको परीक्षा रद्द गरिएको छ भने दुई जनालाई एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ।
यस विषयमा राष्ट्रिय परीक्षा बोर्डले भने नतिजामा कुनै त्रुटि नभएको जनाएको छ। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार परीक्षणदेखि सम्परीक्षणसम्मका सबै कार्य शिक्षकमार्फत हुने भएकाले नतिजा प्रक्रियामा त्रुटि नभएको दाबी गरिएको छ।
यसैबीच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पनि नतिजा प्रकाशन प्रक्रियामा गम्भीर कमजोरी भएको आशंका व्यक्त गर्दै बोर्डको ध्यानाकर्षण गराएको छ। संगठनले निष्पक्ष छानबिन, शुल्क वृद्धि फिर्ता तथा अन्यायमा परेका विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था गर्न माग गरेको छ।
विद्यार्थी र विद्यार्थी संगठनहरूले माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।









प्रतिक्रिया दिनुहोस्