वैदेशिक व्यापार र निर्यातमा नयाँ कीर्तिमान, ११ महिनामै २१ खर्ब ७२ अर्ब रुपैयाँको कारोबार

काठमााडौं, ८ असार ।  नेपालको वैदेशिक व्यापार र निर्यात दुवैले चालु आर्थिक वर्षमा नयाँ कीर्तिमान कायम गरेका छन्। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार ११ महिनामा कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

यसअघि आर्थिक वर्ष २०७८/७९ मा २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। यस वर्ष भने वार्षिक अवधि पूरा नहुँदै उक्त कीर्तिमान तोडिएको छ।

तथ्याङ्कअनुसार ११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब रुपैयाँ बराबरका वस्तु आयात गरेको छ भने २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ। निर्यातको यो परिमाण पनि नेपालको इतिहासमै सबैभन्दा उच्च हो।

गत आर्थिक वर्षभरिमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। चालु वर्षमा भने ११ महिनामै उक्त उपलब्धि पार भएको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा निर्यात १२ दशमलव २८ प्रतिशतले बढेको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार यसपटकको कीर्तिमानमा निर्यात क्षेत्रको योगदान उल्लेखनीय रहेको छ। विशेषगरी सोयाबिन तेल निर्यातले निर्यात वृद्धिमा ठूलो भूमिका खेलेको देखिएको छ।

११ महिनामा नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। त्यसपछि अलैँची १२ अर्ब १ करोड रुपैयाँ, गलैँचा ९ अर्ब ३८ करोड रुपैयाँ, सूर्यमुखी तेल ७ अर्ब ९९ करोड रुपैयाँ तथा पाम तेल ६ अर्ब १४ करोड रुपैयाँ बराबर निर्यात भएको छ।

यद्यपि कुल व्यापारमा निर्यातको हिस्सा अझै सीमित छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७ दशमलव २० प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १२ दशमलव ८० प्रतिशत मात्रै छ। व्यापार घाटा १६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ।

आयाततर्फ सबैभन्दा बढी रकम इन्धनमा खर्च भएको छ। डिजेल आयातमा १ खर्ब ५२ अर्ब रुपैयाँ, कच्चा सोयाबिन तेलमा १ खर्ब १९ अर्ब रुपैयाँ, पेट्रोलमा ६८ अर्ब १७ करोड रुपैयाँ र खाना पकाउने ग्यासमा ५२ अर्ब २१ करोड रुपैयाँ खर्च भएको छ।

त्यस्तै ४३ अर्ब ४५ करोड रुपैयाँ बराबरका मोबाइल फोन, २५ अर्ब ७५ करोड रुपैयाँ बराबरको सुन तथा सवारीसाधन र तिनका पुर्जामा १ खर्ब १२ अर्ब रुपैयाँ खर्च भएको तथ्याङ्कले देखाएको छ।

नेपालका प्रमुख व्यापारिक साझेदारमध्ये भारत पहिलो स्थानमा रहेको छ। ११ महिनामा भारतबाट १० खर्ब ९२ अर्ब रुपैयाँ बराबरका वस्तु आयात हुँदा नेपालबाट २ खर्ब २८ अर्ब रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्।

चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँ बराबरका वस्तु आयात गरिएको छ भने निर्यात १ अर्ब ५८ करोड रुपैयाँमा सीमित रहेको छ।

अर्थविद्हरूले स्थानीय उत्पादनमा आधारित निर्यात वृद्धि दिगो आर्थिक विकासका लागि सकारात्मक संकेत भएको उल्लेख गर्दै निर्यातको दायरा विस्तार र आयात प्रतिस्थापनमा थप ध्यान दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्