कटारी नगरपालिकाको ९७ करोड ४६ लाख रुपैयाँको बजेट, युवा उद्यम, स्वास्थ्य र सडकलाई प्राथमिकता

काठमााडौं, ८ असार । कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९७ करोड ४६ लाख ५ हजार ८५६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले युवा उद्यमशीलता, स्वास्थ्य सेवा विस्तार, सडक पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै बजेट ल्याएको हो।

आइतबार सम्पन्न १७औँ नगरसभामा नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्। उदयपुरका आठ स्थानीय तहमध्ये आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कटारी पहिलो स्थानीय तह बनेको छ।

सार्वजनिक बजेटमध्ये पुँजीगततर्फ १९ करोड ३९ लाख रुपैयाँ र चालूतर्फ २५ करोड ५१ लाख ४६ हजार ८५६ रुपैयाँ विनियोजन गरिएको छ। बाँकी रकम सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानमार्फत व्यवस्थापन गरिने जनाइएको छ।

नगरपालिकाले युवा तथा नवप्रवर्तनशील उद्यमीलाई प्रोत्साहन गर्न ‘नवउद्यम अनुदान कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ। कार्यविधि बनाएर अनुदान उपलब्ध गराइने यस कार्यक्रमले स्थानीय स्तरमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य क्षेत्रतर्फ हाल सञ्चालनमा रहेको आयुर्वेद सेवालाई स्तरोन्नति गरी आयुर्वेद अस्पतालका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। साथै वडा नम्बर ११ गहुँबारीमा पाँच शय्याको नगर अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने भएको छ।

पूर्वाधार विकासअन्तर्गत महाभारत क्षेत्रका वडा नम्बर ९, १० र १३ लाई बाह्रै महिना यातायात पहुँचमा जोड्ने उद्देश्यसहित करिब तीन करोड रुपैयाँको सडक योजना अघि बढाइएको छ। कटारी बहुउद्देश्यीय उद्यान निर्माण सम्पन्न गर्ने, बसपार्कलाई आधुनिक यातायात केन्द्रका रूपमा विकास गर्ने तथा अधुरा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने योजना पनि बजेटमा समेटिएको छ।

नगरपालिकाले सूचना प्रविधिमार्फत सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्यसहित डिजिटल सुशासनलाई समेत प्राथमिकतामा राखेको छ। अभिलेख व्यवस्थापन, कर्मचारी क्षमता अभिवृद्धि र संस्थागत सुधारका कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

सडक स्तरोन्नति, सिँचाइ कुलो निर्माण, विद्यालय भवन निर्माण, वैकल्पिक ऊर्जा प्रवर्द्धन, खानेपानी आयोजना तथा नदी नियन्त्रणका कार्यक्रमलाई पनि आगामी वर्ष विस्तार गरिने भएको छ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत राजन थापाले कटारी नगरपालिकाले गत वर्ष इतिहासमै सबैभन्दा बढी चार करोड ७७ लाख रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको जानकारी दिँदै आगामी वर्ष यो क्षमता अझ वृद्धि हुने विश्वास व्यक्त गरे।

नगरपालिकाले प्रस्तुत गरेको बजेटले पूर्वाधार निर्माणसँगै उत्पादनमुखी अर्थतन्त्र, गुणस्तरीय सेवा प्रवाह, सुशासन र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्