शुक्लाफाँटामा नेचर गाइड कुम ठाकुर पर्यटकको रोजाइमा, १३ वर्षदेखि वन्यजन्तु पर्यटनमा सक्रिय
काठमााडौं, ८ असार । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउने आन्तरिक तथा बाह्य पर्यटकबीच नेचर गाइड कुम ठाकुर विशेष रूपमा लोकप्रिय बन्दै गएका छन्। भीमदत्त नगरपालिका–१४ नयाँबस्तीका ३७ वर्षीय ठाकुर १३ वर्षदेखि निरन्तर नेचर गाइडको रूपमा काम गर्दै पर्यटकलाई वन्यजन्तु र पर्यावरणसँग परिचित गराउँदै आएका छन्।
नेचर गाइड एसोसिएसन शुक्लाफाँटाका अध्यक्षसमेत रहेका ठाकुर सन् २००७ मा नेचर गाइड तालिम लिएर २००९ मा मलेसिया गएका थिए। तीन वर्षपछि फर्किएर २०१२ को अन्त्यतिरदेखि शुक्लाफाँटामै नेचर गाइडको रूपमा काम सुरु गरेको उनले बताए।
“विदेशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा पर्यटकलाई प्रकृतिसँग साक्षात्कार गराउन पाउँदा खुसी लाग्छ,” ठाकुरले भने।
उनका अनुसार शुक्लाफाँटा दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात गन्तव्य हो, जहाँ विशेषगरी विदेशी पर्यटक चराचुरुङ्गी अवलोकनका लागि आउने गर्छन्। यहाँ ४६५ भन्दा बढी प्रजातिका चराहरू पाइने भएकाले वर्डवाचरहरूको आकर्षण बढ्दो छ।
ठाकुरले गर्मीयाममा बाघ, बाह्रसिङ्गे लगायतका वन्यजन्तु सहजै देख्न सकिने बताए। उनका अनुसार रानीताल, बाबाताल, सालगौडी ताल, चौधर खोला, शिकारी ताल र घाँसे मैदान क्षेत्र बाघ देखिने प्रमुख स्थान हुन्।
उनले कोभिडपछि केही समय पर्यटक आगमन प्रभावित भए पनि अहिले फागुनदेखि जेठसम्म र दशैं–तिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको जानकारी दिए।
शुक्लाफाँटा जङ्गल कटेजमा कार्यरत ठाकुरले नेचर गाइडिङ र फोटोग्राफीबाट मासिक २५ देखि ३० हजार रुपैयाँ आम्दानी हुने बताए। उनका अनुसार यहाँ जीप सफारी र जङ्गल वाक प्रमुख गतिविधि हुन्, जसले पर्यटकलाई निकुञ्जको प्राकृतिक सौन्दर्य नजिकबाट अनुभव गराउँछ।
शुक्लाफाँटामा मझगाउँ र नयाँबस्ती क्षेत्रमा मात्रै १०–१२ जना नेचर गाइड सक्रिय रहेको र जुनियर गाइडले करिब एक हजार रुपैयाँ तथा चरा अवलोकन गराउने गाइडले दुई हजारभन्दा बढी आम्दानी गर्ने गरेको ठाकुरले बताए।
उनका अनुसार शुक्लाफाँटा तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिएको घाँसे मैदान र जैविक विविधताले भरिपूर्ण राष्ट्रिय निकुञ्ज हो, जसले देशकै प्रमुख वन्यजन्तु पर्यटन गन्तव्यका रूपमा पहिचान बनाइरहेको छ।









प्रतिक्रिया दिनुहोस्