याम्बालिङ र टक्सार पिखुवा खोलाको सेयर कारोबार सुरु, पहिलो मूल्य ३०० रुपैयाँ कायम

काठमााडौं, ८ असार ।  याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको धितोपत्र किनबेच आज (सोमबार)देखि दोस्रो बजारमा सुरु भएको छ।

विशेष पूर्व–खुला सत्रमा दुवै कम्पनीको धितोपत्र प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो पटक किनबेच भएको हो। यही मूल्यलाई आधार मानेर नियमित किनबेच सुरु गरिएको छ।

नेपाल धितोपत्र कारोबार बजारमा याम्बालिङ हाइड्रोपावरको धितोपत्र ‘वाईएमएचएल’ र टक्सार पिखुवा खोला हाइड्रोपावरको धितोपत्र ‘टिपिकेएचएल’ सङ्केतमा किनबेचका लागि खुला गरिएको छ। दुवै कम्पनीको प्राथमिक निष्कासन गत शुक्रबार सूचीकृत भएको थियो।

याम्बालिङ हाइड्रोपावरले सर्वसाधारणलाई वितरण गरेको २८ लाख कित्ता र संस्थापक पक्षको ४२ लाख कित्ता गरी कुल ७० लाख कित्ता धितोपत्र सूचीकृत गराएको छ।

त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणलाई वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक पक्षको ७७ लाख ६९ हजार ३३२ कित्ता गरी कुल १ करोड २० लाख कित्ता धितोपत्र सूचीकृत गराएको छ।

दुवै कम्पनीले पहिलो किनबेचका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य सीमा पाएका थिए। कम्पनीको खुद सम्पत्तिको आधारमा पहिलो किनबेचका लागि तीन गुणासम्मको मूल्य सीमा निर्धारण गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्