गंगाजमुना गाउँपालिकाद्वारा ६१ करोड २५ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक

काठमााडौं, ८ असार । आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि गंगाजमुना गाउँपालिकाले बजेट सार्वजनिक गरेको छ। पालिकाले ६१ करोड २५ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको हो।

गाउँसभामा उपाध्यक्ष रामेश्वर सिमखडा ले बजेट प्रस्तुत गरेका हुन् भने अध्यक्ष भक्त लामा ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति धादिङ का प्रमुख नवराज अधिकारी को समेत उपस्थिति रहेको थियो।

उपाध्यक्ष सिमखडाका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षमा ९९ लाख रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य राखेको छ भने सञ्चित कोषमा ३ करोड ५० लाख रुपैयाँ मौज्दात रहेको छ।

गाउँपालिकाले संघीय सरकारबाट राजस्व बाँडफाँड, वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानमार्फत कुल ४७ करोड २७ लाख २८ हजार रुपैयाँ प्राप्त गर्ने जनाएको छ। त्यस्तै, बागमती प्रदेश सरकार बाट विभिन्न शीर्षकमा कुल ८ करोड ७६ लाख २८ हजार ६ सय ७० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

बजेटमा सबै वडाका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। सडक, खानेपानीलगायत सार्वजनिक पूर्वाधार निर्माणका लागि १४ करोड ४६ लाख रुपैयाँ छुट्याइएको छ भने शिक्षा क्षेत्रको १० वर्षे गाउँ शिक्षा योजना कार्यान्वयनका लागि सशर्त अनुदान बाहेक थप २ करोड १८ लाख रुपैयाँ व्यवस्था गरिएको छ।

यस्तै, युवा तथा खेलकुद विकासका लागि १७ लाख रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ४० लाख रुपैयाँ, कृषि क्षेत्रका लागि ५० लाख रुपैयाँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यक्रमका लागि २० लाख रुपैयाँ तथा पशु विकास कार्यक्रमका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। ४० वर्ष उमेर पुगेका एकल महिलाको संरक्षण कार्यक्रमका लागि ६ लाख रुपैयाँ छुट्याइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले शिक्षा, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङ्तान ले गरेका थिए।

गाउँसभाबाट पारित बजेट तथा कार्यक्रमबारे जानकारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक अधिकारी ले दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्