प्रधानमन्त्रीसहित रास्वपा नेताहरू चितवनमा महाधिवेशनमा सहभागी, सुरक्षा कडाइ
काठमााडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन शाह आइतबार चितवन पुगेका छन्। उनी महाधिवेशनको उद्घाटन र बन्दसत्रमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आएको जनाइएको छ।
प्रधानमन्त्री शाह कालिका नगरपालिका–९ शक्तिखोरस्थित हालै सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने व्यवस्था गरिएको छ। रिसोर्ट ६ असारदेखि चार दिनका लागि बुक गरिएको छ, जसअन्तर्गत सबै १६ कोठा आरक्षित गरिएको बताइएको छ।
रिसोर्ट स्रोतका अनुसार १३ वटा कोठामा पाहुना बस्नेछन् भने बाँकी तीन कोठा आवश्यकताअनुसार प्रयोग गरिनेछ। उच्चस्तरीय सुरक्षाको कारण नेपाली सेना र प्रहरीको टोली शनिबारदेखि नै रिसोर्ट क्षेत्रमा परिचालन गरिएको छ।
रास्वपा महाधिवेशनको उद्घाटन स्थलबाट करिब १६ किलोमिटर उत्तर–पूर्वमा रहेको उक्त रिसोर्ट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी र सिद्धी जाने सडक नजिक पर्छ।
प्रधानमन्त्रीसँगै गृहमन्त्री सुदन गुरुङ र अन्य नेताहरू पनि सोही क्षेत्रमा बस्ने बताइएको छ। उनीहरूका लागि रिसोर्टमा विशेष व्यवस्था गरिएको छ, जसअन्तर्गत केही भीभीआईपी कोठाहरू तयार गरिएको जनाइएको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै रिसोर्टका अधिकांश कर्मचारीलाई चार दिनका लागि बिदा दिइएको छ भने सीमित कर्मचारीमार्फत सेवा सञ्चालन भइरहेको छ। किचन र हाउसकिपिङमा मात्र सीमित जनशक्ति राखिएको छ।
त्यसैगरी, रिसोर्टका सबै सीसीटीभी क्यामेरा बन्द गरिएको र कर्मचारीलाई फोटो खिच्न तथा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइएको बताइएको छ।
लटौली सेन्चुरी रिसोर्टसँगै सोही कम्पनीद्वारा सञ्चालित भ्युरानकोट रिसोर्टका थप १४ कोठा पनि चार दिनका लागि बुक गरिएको छ। भ्युरानकोट लटौलीभन्दा करिब ४ सय मिटर माथि अवस्थित छ र त्यहाँ कटेज तथा टेन्ट सुविधा उपलब्ध छ।
स्थानीय सञ्चालकका अनुसार दुवै रिसोर्ट स्थानीय व्यवसायी ज्ञानेन्द्र खड्काले सञ्चालन गर्दै आएका हुन्। केही दिनअघि रास्वपा महामन्त्री भुपदेव शाह पनि सोही क्षेत्रमा बसेका थिए।









प्रतिक्रिया दिनुहोस्