बैंक नागरिकको सारथी बन्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ, नेपाल बैंकको नयाँ भवन उद्घाटन
काठमााडौं, ७ असार । अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंकहरू नागरिकको सारथी बन्नुपर्ने बताएका छन्। बैंक स्थापनाको मूल उद्देश्य नै जनहित र कल्याण भएकाले सोहीअनुसार कार्यसम्पादन गर्नुपर्ने उनले जोड दिएका छन्।
नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री वाग्लेले नेपाल बैंकको आठ दशक लामो गौरवशाली इतिहासको चर्चा गरे। उनले वि.सं. १९९४ मा बैंकिङ ऐनको प्रस्तावनामा नै “नेपाली जनताको भलो गर्ने” उद्देश्य उल्लेख गरिएको स्मरण गर्दै त्यसलाई आत्मसात गर्दै आधुनिक बैंकिङ प्रणालीमा अघि बढ्नुपर्ने बताए।
हेटौंडामा २०२५ सालदेखि नेपाल बैंकको उपस्थिति रहेको उल्लेख गर्दै उनले बागमती प्रदेशको राजधानीसमेत रहेको यस क्षेत्रको आर्थिक गतिविधिमा बैंकको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
सम्बोधनका क्रममा मन्त्री वाग्लेले हेटौंडाको मुख्य बजार क्षेत्रको सडक विस्तार र पूर्वाधार समस्या समाधानमा सरकार सक्रिय रहेको बताए। सडक विस्तार विषय अदालतमा विचाराधीन रहेकाले प्रक्रिया अनुसार समाधान खोजिने उनले उल्लेख गरे।
कार्यक्रममा नेपाल बैंक लिमिटेडका कार्यकारी निर्देशक तिलकराज पाण्डेले बैंक नेपाल सरकारको स्वामित्वमा रहेको पूर्ण नेपाली बैंक भएको बताए। उनले बैंक देशका सातै प्रदेश र ७७ वटै जिल्लामा विस्तार भएको जानकारी दिए।
उनका अनुसार बैंकका २३१ शाखा सञ्चालनमा छन् भने करिब ३ हजार ७०० कर्मचारी कार्यरत छन्। हाल बैंकमा २७ लाखभन्दा बढी ग्राहक रहेको र ४०० अर्ब रुपैयाँ निक्षेप तथा २६० अर्ब रुपैयाँ कर्जा लगानी रहेको उनले जानकारी दिए। साथै, १४० अर्ब रुपैयाँ सरकारी ट्रेजरी बिल र विकास ऋणपत्रमा लगानी गरिएको पनि उल्लेख गरे।
कार्यकारी निर्देशक पाण्डेले डिजिटल सेवाप्रति ग्राहकको आकर्षण बढ्दै गएको बताए। कार्यालयमा काउन्टर सेवा प्रयोग गर्ने ग्राहक संख्या घट्दै गएको र डिजिटल प्रणालीप्रति विश्वास बढेको उनले बताए।
उनले नयाँ ‘कोर बैंकिङ सिस्टम’ लागू गर्न सरकारी खरिद प्रक्रियाका कारण केही ढिलाइ भए पनि छिट्टै आधुनिक प्रविधि भित्र्याउने तयारी भइरहेको जानकारी दिए।
नेपाल बैंकमा सरकारको ५१ प्रतिशत, कर्मचारी सञ्चय कोषको करिब ३ प्रतिशत तथा अन्य संस्थागत लगानी रहेको छ। बैंकले नाफाको ठूलो हिस्सा पुनः सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था रहेको पनि कार्यक्रममा जानकारी दिइयो।
नवनिर्मित प्रादेशिक कार्यालय भवन राष्ट्र बैंकको नोट कोषबाट करिब ४ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। भवन तीन तले रहेको र अन्डरग्राउन्ड पार्किङ, कम्पाउण्ड वाल तथा गार्ड रुमसहित सुविधा सम्पन्न रहेको शाखा प्रबन्धक रेजिना सुवेदीले जानकारी दिइन्।









प्रतिक्रिया दिनुहोस्