एनसेल–ट्रिप टर्बो सहकार्य, यात्रुहरूलाई मोबाइल एपमार्फत आकर्षक छुट सुविधा

काठमााडौं, ७ असार । एनसेलले अग्रणी यात्रा प्लेटफर्म ट्रिप टर्बोसँग सहकार्य गर्दै मोबाइल एपमार्फत टिकट बुकिङ तथा साहसिक गतिविधिमा आकर्षक छुट सुविधा उपलब्ध गराउने भएको छ। यस योजनासँगै ग्राहकहरूले विभिन्न सेवामा अधिकतम ८ हजार रुपैयाँसम्मको बचत गर्न सक्नेछन्।

कम्पनीका अनुसार ९९ रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने सबै एनसेल ग्राहकहरू यो छुट योजनाका लागि योग्य हुनेछन्। ग्राहकहरूले एनसेल एपको ‘पार्टनर सेवा’ अन्तर्गत रहेको ट्रिप टर्बो खण्डमार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

नयाँ योजनाअनुसार साहसिक गतिविधिमा सहभागी हुँदा ग्राहकहरूले ८ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्नेछन्। त्यस्तै, आन्तरिक हवाई यात्राको पहिलो टिकट बुकिङमा २०० रुपैयाँ र त्यसपछिका प्रत्येक टिकटमा १४० रुपैयाँ छुट पाइनेछ। बस टिकट बुकिङमा १११ रुपैयाँसम्मको छुट सुविधा उपलब्ध हुनेछ।

एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले एनसेल केवल दूरसञ्चार सेवामा सीमित नरही ग्राहकको जीवनशैलीलाई सहज र डिजिटल बनाउन प्रतिबद्ध रहेको बताए। उनले ट्रिप टर्बोसँगको सहकार्यले यात्रा सेवा थप सहज र किफायती हुने विश्वास व्यक्त गरे।

एनसेलले पछिल्ला वर्षहरूमा आफूलाई डिजिटल जीवनशैली सेवाप्रदायकका रूपमा विस्तार गर्दै आएको छ। कम्पनीले आफ्नो एप इकोसिस्टममार्फत विभिन्न सेवाहरू एकीकृत गर्दै ग्राहकलाई थप सुविधा दिने रणनीति अघि बढाएको छ।

ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा, होटल बुकिङ र छुट्टी प्याकेजलगायत सेवा उपलब्ध गराउँदै आएको छ। एनसेलसँगको सहकार्यले डिजिटल प्रयोगकर्ताका लागि नयाँ अवसर विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्