रास्वपाको ‘वरिष्ठ नेता’ पदमा निर्वाचन नहुने, बालेन शाहलाई निरन्तरता दिने तयारी

काठमााडौं, ७ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधनमार्फत सिर्जना गरेको ‘वरिष्ठ नेता’ पदमा निर्वाचन नहुने भएको छ। पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार महाधिवेशनमा उक्त पदका लागि चुनाव नहुने निर्णय गरिएको छ।

रास्वपाले पहिलो महाधिवेशनअघि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर तथा वर्तमान प्रधानमन्त्री बालेन शाहलाई पार्टीमा समाहित गर्न वरिष्ठ नेता पदको व्यवस्था गरेको थियो। फागुन २१ को चुनावअघि विधान संशोधन गरी थपिएको यो पदलाई महाधिवेशनबाट औपचारिक रूपमा अनुमोदन गर्न भने बाँकी छ।

निर्वाचन आयोगका अनुसार वरिष्ठ नेता पदमा निर्वाचन नहुने भएपछि बालेन शाहले केन्द्रीय सदस्य पदका लागि समेत प्रतिस्पर्धा गर्नुपर्ने छैन। पार्टी स्रोतका अनुसार उनलाई पदाधिकारीमा स्थान सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो।

चितवनको भरतपुरमा आइतबारदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनमा वरिष्ठ नेता बाहेक केन्द्रीय समिति सदस्य र अन्य पदाधिकारी पदका लागि निर्वाचन हुने देखिएको छ। उद्घाटन सत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ।

रास्वपाको विधानअनुसार निर्वाचन दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय समिति सदस्यहरूको चुनाव हुनेछ। सभापति पदका निकटतम प्रतिस्पर्धीले १० प्रतिशतभन्दा बढी मत प्राप्त गरे स्वतः केन्द्रीय सदस्य बन्ने व्यवस्था छ।

दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिनेछ। विधान संशोधनपछि रास्वपाको केन्द्रीय समितिको आकार १५८ सदस्यीय र पदाधिकारी संख्या १९ पुगेको छ।

२०७९ असार ७ गते स्थापना भएको रास्वपाले चार वर्षपछि पहिलो पटक महाधिवेशन गर्न लागेको हो। स्थापना भएको चार महिनामै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २१ सिट जितेको पार्टीले पछिल्लो निर्वाचनमा झन्डै दुई-तिहाइ बहुमत हासिल गर्दै सरकार गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्