मुक्कुम्लुङ–पाथीभरा केवलकार विवाद समाधानका लागि ७ सदस्यीय कार्यदल गठन

काठमाडौं, असार ५ — मुक्कुम्लुङ पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनासम्बन्धी लामो समयदेखि जारी विवाद समाधान गर्न सरकारले ७ सदस्यीय कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको निर्णयअनुसार कार्यदलको संयोजन प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्व राईले गर्नेछन्। कार्यदललाई १५ दिनभित्र विवादको अध्ययन गरी समाधानका सुझावसहित प्रतिवेदन पेश गर्न समयसीमा दिइएको छ।

कार्यदलमा पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर, केवलकार निर्माणमा असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समिति का प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्रीको सचिवालयका स्वकीय सहसचिव सदस्य रहनेछन्।

सरकारले सबै सरोकारवाला पक्षलाई समेटेर विवाद समाधानको प्रयास थालेको बताइएको छ। पाथीभरा क्षेत्र धार्मिक र ऐतिहासिक रूपमा महत्वपूर्ण स्थल भएकाले केवलकार परियोजनालाई लिएर स्थानीयस्तरमा लामो समयदेखि विरोध र समर्थन दुवै देखिँदै आएको छ।

कार्यदलले विवादका मुख्य कारण पहिचान गरी सहमति निर्माण गर्ने उपायहरू सहित अन्तिम सुझाव सरकारलाई बुझाउनेछ।

प्रतिक्रिया दिनुहोस्