नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड ८८ लाख रुपैयाँ बराबरको बजेट
धादिङ, असार ४ , २०८३ साल । नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब २४ करोड ८८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
बिहीबार सम्पन्न पालिकाको नगरसभाको १९औँ अधिवेशनमा नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले ल्याउनु भएको नीति तथा कार्यक्रमलाई नगर उपप्रमुख दीपक विश्वकर्मा ले प्रस्तुत गर्नुभएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार, पर्यटन तथा सुशासनलाई उच्च प्राथमिकता दिइएको छ।
नगर प्रमुख ढुङ्गानाले आगामी आर्थिक वर्षमा सुशासन, प्रभावकारी सेवा प्रवाह, कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षणलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाइने बताउनुभयो। उहाँले डिजिटल तथ्यांक प्रणाली स्थापना, “एक वडा–एक पहिचान” अवधारणाको कार्यान्वयन, स्थानीय उत्पादनको ब्रान्डिङ, प्राविधिक शिक्षाको विस्तार, खेलमैत्री नगर अभियान तथा नगर गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइने जानकारी दिनुभयो।
नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि नगर उपप्रमुख विश्वकर्माले आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ८८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभयो। प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार रुपैयाँ तथा पूँजीगत खर्चतर्फ ३६ करोड ७३ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ। यो बजेट चालु आर्थिक वर्ष २०८२÷८३ को तुलनामा १ करोड ७ लाख ८३ हजार रुपैयाँले बढी रहेको जनाइएको छ।
नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको असार ३ गतेसम्म कुल १ अर्ब २६ करोड २९ लाख ४२ हजार ६ सय ६३ रुपैयाँ बजेटमध्ये ७० करोड १८ लाख ५३ हजार ६१ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ५५।५७ प्रतिशत हो।
राजस्वतर्फ आन्तरिक आयको लक्ष्य ६ करोड ६० लाख रुपैयाँ राखिएकोमा हालसम्म ३ करोड ३७ लाख २६ हजार रुपैयाँ आम्दानी भएको छ। त्यस्तै राजस्व संकलनतर्फ १३ करोड ४ लाख ६४ हजार ४ सय १९ रुपैयाँ अनुमान गरिएकोमा ११ करोड २६ लाख २० हजार रुपैयाँ संकलन भइसकेको नगरपालिकाले जनाएको छ।
आगामी बजेटमा कृषि तथा पशुपालन क्षेत्रलाई विशेष महत्व दिइएको छ। बिउ वितरण, बाली संरक्षण, किसानसँग चौतारी कार्यक्रम, उत्कृष्ट बाली तथा उद्योग प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गरिने भएका छन्।
शिक्षा क्षेत्रतर्फ कक्षा १२ सम्मको अनिवार्य निःशुल्क शिक्षालाई निरन्तरता दिन ८ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रमा नगर स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थाको स्तरोन्नति तथा उपकरण मर्मत–सम्भारका कार्यक्रम समावेश गरिएका छन्।
युवा तथा खेलकुद क्षेत्रका लागि ५४ लाख ५० हजार रुपैयाँ, सीप तथा उद्यमशीलता विकासका लागि ९ लाख ५५ हजार रुपैयाँ, रोजगारी सिर्जनाका लागि २५ लाख रुपैयाँ तथा वैदेशिक रोजगारसम्बन्धी कार्यक्रमका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
पूर्वाधार विकासतर्फ नगरपालिकाले सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुर्याउने लक्ष्यसहित सडक योजनाका लागि १३ करोड २३ लाख रुपैयाँ छुट्याएको छ। नगरका १४ वटै वडामा सडक स्तरोन्नति तथा कालोपत्रे कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। साथै खानेपानी, सरसफाइ, फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि, न्यायिक समिति तथा विपद् व्यवस्थापनका कार्यक्रमका लागि समेत बजेट व्यवस्था गरिएको छ।
नगरसभाले प्रस्तुत नीति तथा कार्यक्रम तथा आर्थिक विधेयक–२०८३ सर्वसम्मत रूपमा पारित गरेको छ भने बजेटमाथिको छलफलपछि आगामी बैठकबाट बजेट पारित गरिने जनाएको छ।
यसैबीच, धादिङकै नेत्रावती डबजोङ गाउँपालिकाले पनि बिहीबार गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०८३र८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।









प्रतिक्रिया दिनुहोस्