हुवावे प्रतिनिधिमण्डल र सञ्चारमन्त्रीबीच भेट, डिजिटल नेपालमा सहकार्यको प्रतिबद्धता

काठमााडौं , ४ असार ।  चीनको प्रविधि कम्पनी Huawei का एसिया–प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ।

मन्त्रालयमा भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै कम्पनीसँग आवश्यक प्रविधि, अनुभव र स्रोत उपलब्ध रहेको भन्दै सहकार्य गर्न सकिने बताए। उनले सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई प्रभावकारी बनाउन दूरसञ्चार पूर्वाधार, डेटा सेन्टर, एआई, क्लाउड कम्प्युटिङ तथा डिजिटल पूर्वाधार विकासलगायत क्षेत्रमा दीर्घकालीन सहकार्य गर्न इच्छुक रहेको जानकारी दिए।

भेटका क्रममा मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्र सुधार सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै देशभर गुणस्तरीय तथा भरपर्दो सेवा विस्तार आवश्यक रहेको बताए। उनले हुवावेले नेपालमा लामो समयदेखि गरेको कामप्रति विश्वास कायम रहनुपर्नेमा जोड दिँदै सेवा गुणस्तरमा कुनै कमजोरी नदेखिनुपर्ने स्पष्ट पारे।

“नेपालमा हुवावेले गरेको काममाथि प्रश्न उठ्ने अवस्था आउनु हुँदैन, समस्या भए तत्काल समाधान गर्नुपर्छ,” मन्त्री तिमिल्सिनाले भने।

उनले नेपाल टेलिकममा हुवावेको प्राविधिक सहयोग रहेको सन्दर्भमा सेवा सम्बन्धी गुनासो समाधान गर्न समन्वयात्मक रूपमा काम गर्न पनि दुवै पक्षलाई आग्रह गरे। नागरिकले गुणस्तरीय सेवा पाउनुपर्ने विषयमा सबै सरोकारवाला गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि पारदर्शी, स्वच्छ र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै बिचौलिया प्रणालीलाई स्थान नदिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्