डियरह्याक २०२६ सम्पन्न, ‘टिम प्रफिट.एक्सई’ बन्यो मुख्य विजेता
काठमााडौं , ४ असार । काठमाडौंस्थित डियरवाक कम्प्लेक्समा आयोजित प्रविधि प्रतिस्पर्धा ‘डियरह्याक २०२६’ को चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। डिडब्लुआइटी सफ्टवेयर क्लबद्वारा आयोजित तीनदिने कार्यक्रममा नेपाल र भारतका युवा प्रविधिप्रेमी, नवप्रवर्तक, विकासकर्ता तथा उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक दृश्य कार्की र श्रेयांश पोखरेलका अनुसार युवा प्रतिभालाई नवप्रवर्तनतर्फ प्रेरित गर्दै उनीहरूको सिर्जनात्मक सोचलाई व्यावसायिक तथा व्यावहारिक समाधानमा रूपान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
सन् २०२३ मा सुरु भएको डियरह्याक चौथो संस्करणसम्म आइपुग्दा दक्षिण एसियाका विकासकर्ता, डिजाइनर, उद्यमी तथा समस्या समाधानकर्ताहरूको महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको आयोजकहरूको दाबी छ।
यस वर्ष छनोट भएका १७ टोलीले लगातार ४८ घण्टासम्म विभिन्न प्रविधिको प्रयोग गर्दै नवीन परियोजना विकास गरेका थिए। प्रतियोगितामा सहभागीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, वातावरण, इन्टरएक्टिभ टेक्नोलोजी र ब्लकचेन गरी चार विधामा प्रतिस्पर्धा गरेका थिए।
कार्यक्रमभर सहभागीहरूले प्रविधि क्षेत्रका अनुभवी व्यक्तिहरूबाट मेन्टरसिप र कार्यशालामार्फत आफ्ना अवधारणालाई थप परिष्कृत गर्ने अवसर प्राप्त गरेका थिए।
प्रतियोगितामा ‘टिम प्रफिट.एक्सई’ मुख्य विजेता घोषित भएको छ। दीपा खनाल, दिपेश सिंह, साजन साही कर्मी र मणिदास श्रेष्ठ सम्मिलित उक्त टोलीले उत्कृष्ट प्राविधिक कार्यक्षमता तथा सामाजिक प्रभावका आधारमा उपाधि जित्न सफल भएको हो।
यस वर्ष पहिलो पटक ‘वातावरण’ विधा समावेश गरिएको थियो। ‘वातावरणीय दिगोपना’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितामा प्रविधिमार्फत जलवायु परिवर्तन तथा वातावरणीय चुनौतीहरूको समाधान खोज्ने प्रयास गरिएको थियो। उक्त विधामा भारतको पुणेस्थित जीएच रायसोनी विश्वविद्यालयको ‘टिम गगिन्स’ विजेता बनेको छ। टोलीमा आर्य मनोज मिश्रा, मानसी दुबे, गोपाल परिक र अद्वैत झा सहभागी थिए।
आयोजकका अनुसार डियरह्याक केवल कोडिङ र प्रविधिमा आधारित प्रतिस्पर्धा मात्र नभई सहभागीबीच सहकार्य, नेटवर्किङ र अनुभव आदानप्रदानको अवसर पनि हो। प्रतियोगिताको तनाव कम गर्न तथा सहभागीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउन लाइभ म्युजिक, फुटसल, ब्याडमिन्टनलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिएको थियो।









प्रतिक्रिया दिनुहोस्