प्रतिनिधि सभाबाट आज बजेट पारित हुने, मन्त्रीहरूले दिनेछन् जवाफ

काठमााडौं , ४ असार । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाको बैठकबाट पारित हुने भएको छ। बजेट पारित गर्नुअघि सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, शिक्षा तथा खेलकुद मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले आ–आफ्ना मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनेछन्। यस्तै, पूर्वाधार विकास मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, परराष्ट्र मन्त्री तथा रक्षा मन्त्रीले पनि सांसदहरूको जिज्ञासाको सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्हालिरहेकाले रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ पनि उनैले दिनेछन्।

यसैगरी प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयअन्तर्गतका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको पनि जवाफ दिनेछन्।

मन्त्रीहरूको जवाफपछि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा दर्ता भएका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। सभामा २० वटा खर्च कटौतीका प्रस्ताव दर्ता भएका छन्।

खर्च कटौतीका प्रस्तावमाथि निर्णय भएपछि विनियोजन विधेयक, २०८३ का दफाहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन्।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्