काठमाडौं महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत स्वीकृत, बजेट असार ४ गते प्रस्तुत हुने

बाठमाडौं १, असार । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ।

सोमबार बसेको नगरसभाको बैठकले कार्यपालिका सदस्यहरूबाट प्राप्त सुझाव र संशोधन समेट्दै नीति तथा कार्यक्रम पारित गरेको हो।

नगरसभामा कार्यवाहक प्रमुख सुनिता डंगोलले सदस्यहरूबाट प्राप्त राय, सुझाव र सल्लाहलाई समावेश गरेर नीति तथा कार्यक्रम स्वीकृत गर्न प्रस्ताव पेश गरेकी थिइन्। उनले प्राप्त सुझावहरूले आगामी बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

डंगोलले महानगरले सुशासन, छिटोछरितो सेवा प्रवाह, जनमुखी प्रशासन र सहज सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै सदस्यहरूबाट आएका नवीन तथा सिर्जनात्मक सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाइन्।

उनले केही सुझाव महानगरका विद्यमान ऐन तथा कानुन संशोधनसँग सम्बन्धित रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिइन्। महानगरबासीले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी नीति, कार्यक्रम र बजेट निर्माण गरिने उनको भनाइ थियो।

नगरसभाबाट नीति तथा कार्यक्रम स्वीकृत भएसँगै अब आगामी आर्थिक वर्षको बजेट, आर्थिक विधेयक–२०८३ र विनियोजन विधेयक–२०८३ प्रस्तुत गर्ने तयारी गरिएको छ। यसका लागि नगरसभाको अर्को बैठक असार ४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा बस्ने तय भएको छ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तयार पारेको नीति तथा कार्यक्रम कार्यवाहक प्रमुख डंगोलले गत बिहीबार नगरसभामा प्रस्तुत गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्