छानबिनमा अनियमितता नदेखिए पनि ६४९ गाडी अझै नियन्त्रणमा, व्यवसायी अन्योलमा
बाठमाडौं १, असार । कोरला नाकाबाट आयात गरिएका ६४९ वटा सवारीसाधन छानबिनमा कुनै अनियमितता नदेखिए पनि अझै प्रहरी नियन्त्रणमै रहेका छन्। सम्बन्धित निकायहरूले आयात प्रक्रिया कानुनसम्मत रहेको निष्कर्ष निकालेपछि पनि गाडी नछोडिँदा व्यवसायीहरू अन्योलमा परेका छन्।
भन्सार जाँचपास प्रक्रियामा मिलेमतो भएको आशंकापछि बजेट सार्वजनिक भएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सक्रियतामा रसुवा र कोरला नाकाबाट भित्रिएका ७७५ वटा गाडी रोकिएको थियो। तीमध्ये कोरला नाकाबाट आयात गरिएका ६४९ वटा गाडीको छानबिन सम्पन्न भइसकेको छ।
अर्थ मन्त्रालय, भन्सार विभाग तथा सुरक्षा निकायका प्रतिनिधि सम्मिलित छानबिन समितिले प्रारम्भिक प्रतिवेदन बुझाउँदै ती सवारीसाधन आयात गर्दा आवश्यक कानुनी प्रक्रिया पूरा भएको र कुनै अनियमितता नदेखिएको जनाएको छ।
यसअघि संसदीय समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थसचिव घनश्याम उपाध्याय र भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि कोरला नाकाबाट आयात भएका गाडीमा कुनै त्रुटि नभएको बताएका थिए।
यद्यपि छानबिनको निष्कर्ष सार्वजनिक भइसके पनि गाडीहरू अझै नियन्त्रणमुक्त हुन सकेका छैनन्। व्यवसायीहरूले नियमअनुसार आयात गरिएका सवारीसाधन लामो समय रोकिँदा आर्थिक नोक्सानीसँगै प्रतिष्ठामाथि असर परेको गुनासो गरेका छन्।
प्रधानमन्त्री कार्यालयबाट गाडी फुकुवा गर्ने सम्बन्धमा अहिलेसम्म कुनै लिखित निर्देशन नआएकाले मुस्ताङ जिल्ला प्रशासन कार्यालय र कोरला भन्सार कार्यालय पनि अन्योलमा रहेको जनाइएको छ।
मुस्ताङ प्रशासनका अनुसार गाडीहरू अझै सरकारी नियन्त्रणमै छन् र आगामी निर्णयबारे सम्बन्धित निकायबाट थप निर्देशन प्राप्त नभएको अवस्था छ। यसबीच, छानबिनबाट कुनै गल्ती नदेखिएको अवस्थामा पनि सवारीसाधन रोकिराखिएको विषयले प्रशासनिक प्रक्रिया र निर्णय कार्यान्वयनबारे प्रश्न उठाएको छ।





प्रतिक्रिया दिनुहोस्