लुम्बिनीबाट शान्तिको सन्देश फैलाउन आईजीपी कार्कीको आह्वान

बाठमाडौं १, असार । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त गरी समृद्ध, विकसित र भाइचारापूर्ण समाज निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको ‘शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम’ मा बोल्दै आईजीपी कार्कीले समाजमा शान्ति, सुव्यवस्था र समृद्धि कायम गर्न सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको उल्लेख गरे।

उनले लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश देशभर फैलिनुपर्नेमा जोड दिँदै लागूऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या, बालविवाह र लैङ्गिक हिंसाजस्ता समस्या गम्भीर चुनौतीका रूपमा रहेको बताए। यस्ता समस्याको समाधान प्रहरी एक्लैको प्रयासले सम्भव नहुने उनको भनाइ थियो।

आईजीपी कार्कीले नेपाल प्रहरीले परम्परागत कार्यशैलीभन्दा प्रविधिमैत्री र जनमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको जानकारी पनि दिए।

कार्यक्रममार्फत समाजमा शान्ति, सुरक्षा र सचेतनाको सन्देश फैलाउने उद्देश्य लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्