विनियोजन विधेयक, २०८३ माथि प्रतिनिधिसभामा छलफल सुरु
बाठमाडौं १, असार । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमाथि समूहीकृत छलफल प्रारम्भ भएको छ।
आजको बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ।
सभामुख डोलप्रसाद अर्यालले आजका लागि शून्य र विशेष समय नराखिएको जानकारी दिँदै खर्च कटौतीको प्रस्ताव राख्ने सांसदहरूलाई सम्बन्धित विनियोजन शीर्षकमाथि छलफलमा सहभागी हुन समय उपलब्ध गराएका छन्।
यस क्रममा सांसद कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्दिकी, युवराज दुलाल र एशुदाकुमारी बराललगायतले विभिन्न मन्त्रालयका बजेट शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए। बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ।
त्यसैगरी आजको बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा सदस्य हेरफेरसम्बन्धी प्रस्ताव प्रस्तुत गरेपछि सभाले त्यसलाई सहमति जनाएको छ।





प्रतिक्रिया दिनुहोस्