१ प्रतिशत कर तिरेर पुराना हिसाब मिलाउने अवसर, २–३ लाख साना व्यवसायी लाभान्वित हुने : अर्थमन्त्री वाग्ले
काठमाडौं ३१ जेष्ठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ बजेटमार्फत कर दायित्व, जरिवाना र बक्यौताका कारण समस्यामा परेका करिब २ देखि ३ लाख साना व्यवसायी तथा नवप्रवर्तनशील उद्यमीलाई राहत दिने व्यवस्था गरिएको बताएका छन्।
नेपाल युवा उद्यमी मञ्चद्वारा आयोजित ‘युवा उद्यमशीलता सम्मेलन २०८३’ मा बोल्दै उनले एकै पटक १ प्रतिशत कर तिरेर पुराना हिसाबकिताब मिलाउन सकिने व्यवस्था सरकारले ल्याएको जानकारी दिए। यसलाई साना उद्यमीका लागि ऐतिहासिक सुधारको कदमका रूपमा प्रस्तुत गर्दै उनले वर्षौंदेखि कर तथा जरिवानाको बोझले औपचारिक प्रणालीबाहिर रहेका व्यवसायीलाई पुनः औपचारिक अर्थतन्त्रमा फर्किने अवसर मिलेको बताए।
अर्थमन्त्री वाग्लेले सरकारले करको दर घटाउने र करको दायरा विस्तार गर्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै १ प्रतिशत कर लाग्ने कारोबारको सीमा ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको बताए। यसबाट मासिक करिब एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवा उद्यमीको कर भार कम हुने उनको भनाइ थियो।
उनले सरकार पाँच वर्षे स्पष्ट कार्ययोजनाका साथ अघि बढिरहेको बताउँदै पहिलो वर्ष प्रणाली र आधार निर्माण, दोस्रो तथा तेस्रो वर्ष विकासको गति तीव्र बनाउने र चौथो तथा पाँचौँ वर्षमा त्यसको प्रतिफल नागरिकसम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिए।
व्यवसाय तथा लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधारलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले १५ वटा पुराना ऐन खारेज भइसकेको र बजेटमार्फत थप २५ देखि ३० वटा ऐन खारेज, संशोधन वा नयाँ ल्याउने प्रक्रिया अघि बढाइएको बताए।
सेवा प्रवाहलाई सहज बनाउन मालपोत, राहदानी, सवारी चालक अनुमति पत्रलगायत करिब ७० सरकारी सेवा डिजिटल माध्यमबाट उपलब्ध गराइँदै गरेको जानकारी दिँदै उनले नागरिक एपमार्फत सयभन्दा बढी सेवा जोड्ने तयारी भइरहेको बताए। यसबाट बिचौलियाको भूमिका अन्त्य भई सेवाप्रवाह थप प्रभावकारी बन्ने विश्वास उनले व्यक्त गरे।
पूर्वाधार विकासतर्फ सरकारले देशलाई एकीकृत आर्थिक क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिएको उल्लेख गर्दै पूर्व–पश्चिम यात्रा ३–४ घण्टा र काठमाडौं–पोखरा यात्रा २ देखि २.५ घण्टामा सीमित गर्ने गरी द्रुतमार्ग तथा अन्य पूर्वाधार परियोजनालाई प्राथमिकता दिइएको बताए। कानुन, ऊर्जा, सडक तथा इन्टरनेट पूर्वाधार सुदृढ गरी देशलाई बलियो आर्थिक एकाइ बनाउने सरकारको योजना रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले विगत १०–१५ वर्षदेखि विभिन्न क्षेत्रमा प्रभाव जमाएका निहित स्वार्थ समूहको प्रभाव तोड्ने प्रक्रिया सुरु भएको दाबी गर्दै नेपालको इतिहासकै ठूला वित्तीय अनियमितता तथा आर्थिक अपराधका घटनामाथि छानबिन र कारबाही अगाडि बढाइएको बताए।
युवा पलायन रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले युवाकेन्द्रित उद्यम प्रवर्द्धन कार्यक्रम ल्याइने जानकारी दिए। ‘देशमा केही हुँदैन’ भन्ने नकारात्मक सोच परिवर्तन गर्न आवश्यक रहेको बताउँदै उनले नयाँ प्रविधि तथा कृत्रिम बुद्धिमत्ताका क्षेत्रमा नेपालले उल्लेखनीय फड्को मार्न सक्ने सम्भावना रहेको बताए।
कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सुदीप घिमिरेले संस्थामा आबद्ध युवा उद्यमीहरूले देशभर ८० हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गरेको जानकारी दिए। करिब दुई दशकअघि सुरु भएको अभियान हाल १५ शाखा र १ हजार २ सयभन्दा बढी सदस्यसहित देशव्यापी सञ्जालका रूपमा विस्तार भएको उनले बताए।
घिमिरेले विद्यालय तथा कलेज तहदेखि नै उद्यमशील सोच र व्यवसायिक संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै कलेज शिक्षा पूरा गरेपछि ‘कुन देश जाने’ भन्दा ‘कुन व्यवसाय सुरु गर्ने’ भन्ने सोच विकास गर्न आवश्यक रहेको बताए। हरेक वर्ष ५ लाखभन्दा बढी युवा विदेशिनु मुलुकको गम्भीर चुनौती भएको उल्लेख गर्दै उनले युवालाई भाषणभन्दा अवसर, जवाफदेहिता र सम्मानजनक कार्य वातावरण आवश्यक रहेको धारणा राखे।
बिनाधितो तथा सहुलियतपूर्ण कर्जासम्बन्धी बजेटीय व्यवस्था सकारात्मक भए पनि नीति र व्यवहारबीच अझै ठूलो दूरी रहेको उनको भनाइ थियो। युवा उद्यमशीलता प्रवर्द्धनका लागि राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले बताए। साथै, अर्धबेरोजगारी मुलुकको प्रमुख चुनौती बनेकाले युवामा लगानी बढाउनुपर्नेमा उनले जोड दिए।





प्रतिक्रिया दिनुहोस्