लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच डिजिटल कर्जा सेवाका लागि सहकार्य

काठमाडौं ३१ जेष्ठ । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा.लि.बीच नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।

नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङसम्बन्धी मार्गदर्शनअनुसार अब लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन्।

यस सुविधाको लाभ लिन व्यवसायहरूले आफ्नो उद्यममा इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली प्रयोग गरेको हुनुपर्नेछ। साथै, आइएमएस सफ्टवेयरमा आबद्ध तथा आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू यस योजनामा सहभागी हुन योग्य हुनेछन्।

सहकार्यअनुसार आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायक (टीएसपी) का रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ। यसमार्फत योग्य उद्यमहरूले आफ्नो इआरपी प्रणालीमा उपलब्ध व्यावसायिक तथ्यांकका आधारमा अनलाइन कर्जा आवेदन र प्रक्रिया पूरा गर्न सक्नेछन्।

बैंकका अनुसार यो पहलले कर्जा प्राप्तिको प्रक्रिया थप सरल, छरितो र पारदर्शी बनाउँदै एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

दुवै संस्थाले यो सहकार्यले डेटा–आधारित मूल्यांकन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रियालाई प्रभावकारी बनाउने र साना तथा मझौला उद्यमहरूको दिगो विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

लक्ष्मी सनराइज बैंकको बैंकिङ विशेषज्ञता र आइएमएस सफ्टवेयरको प्राविधिक क्षमताको संयोजनले नेपालको डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्