विदेशमा नेपाली कामदारको माग बढ्यो

काठमाडौं । निःशुल्क भिसा र टिकटको व्यवस्था लागु भएपछि विदेश जानेको संख्या घटे पनि कामदारको माग भने बढेको छ ।

यो व्यवस्था लागु भएको २०७२ जेठ भन्दा २ वर्ष अगाडि (२०७० असारदेखि २०७२ जेठसम्म) र २ वर्ष पछि (२०७२ असारदेखि २०७४ जेठसम्म)सम्म वैदेशिक रोजगार विभागबाट कामदारको मागमा दिइएको पूर्व स्वीकृतिको तुलना गर्दा यो तथ्य देखिएको हो ।

अघिल्लो अवधि ९२०७० असारदेखि २०७२ जेठसम्म० को तुलनामा पछिल्लो अवधि ९२०७२ असारदेखि २०७४ जेठसम्म० मा यी देशबाट भएको समग्र माग ४.७ प्रतिशतले बढेको देखिन्छ ।

यस्तै देशगत रुपमा कामदारको मागको अवस्था भने फरक फरक रहेको छ । यो अवधिमा मलेसिया र साउदीबाट आउने कामदारको माग भने घटेको छ । मलेसियाबाट हुने मागमा उल्लेख्य गिरावट आएको छ । नेपालको कारणले भन्दा पनि मलेसियाको श्रम बजार सम्बन्धी नियमको कारणले गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकले मंगलबार जारी गरेको निःशुल्क भिसा तथा टिकटको प्रावधानको वैदेशिक रोजगारीमा प्रभावबारेको रिपोर्ट अनुसार मेडिकल जाँच सम्बन्धी बाध्यकारी र महङ्गो प्रावधानले गर्दा पनि मलेसिया जाने कामदारको प्रवाहमा कमी आएको तथा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले साउदीबाट हुने कामदारको मागमा कमी आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्