बजेटका हरेक अनुच्छेदमा सुधार र नयाँ सोच समेटिएको छ : अर्थमन्त्री वाग्ले
जेष्ठ, २८, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटमा हरेक क्षेत्रमा सुधार र नयाँ सोच समेटिएको दाबी गरेका छन्।
प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले श्रम तथा रोजगार क्षेत्रलाई बजेटको प्रमुख सुधारमध्ये एकका रूपमा प्रस्तुत गरे। उनका अनुसार सरकारले श्रम मन्त्रालयलाई केवल वैदेशिक रोजगारी व्यवस्थापन गर्ने निकायका रूपमा सीमित नराखी श्रमिकको अधिकार र सुरक्षामा केन्द्रित नीति अघि सारेको छ।
वाग्लेले लाखौं श्रमिकलाई औपचारिक श्रम बजारमा आबद्ध गराउने, सामाजिक सुरक्षा, बीमा, न्यूनतम ज्याला तथा कानुनी अधिकार सुनिश्चित गर्ने लक्ष्यसहितका कार्यक्रम बजेटमा समावेश गरिएको बताए।
“लाखौं श्रमिकलाई औपचारिक श्रम बजारमा ल्याउने, उनीहरूको सुरक्षा, बीमा, न्यूनतम ज्याला र कानुनी अधिकार सुनिश्चित गर्ने प्रयासलाई कसरी गरिबविरोधी बजेट भन्न मिल्छ?” भन्दै उनले बजेटको बचाउ गरे।
अर्थमन्त्रीले श्रमिकलाई औपचारिक अर्थतन्त्रमा समेट्ने कार्यक्रम बजेटको महत्वपूर्ण सुधार भए पनि त्यसबारे पर्याप्त चर्चा नभएको टिप्पणी गरे।
उनले सरकारले परम्परागत कार्यक्रमलाई निरन्तरता दिनुका साथै विभिन्न क्षेत्रमा नीतिगत र संरचनागत सुधारका नयाँ पहलहरू पनि अघि सारेको दाबी गर्दै बजेटका “हरेक अनुच्छेदमा नयाँ प्रयास” गरिएको बताएका छन्।





प्रतिक्रिया दिनुहोस्