गरिबी न्यूनीकरणका लागि आम्दानी वृद्धि केन्द्रित नीति अपनाएको अर्थमन्त्री वाग्लेको दाबी

जेष्ठ, २८, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले गरिबी न्यूनीकरणका लागि केवल नगद वितरणमा निर्भर नभई नागरिकको आम्दानी बढाउने नीतिमा सरकार केन्द्रित रहेको बताएका छन्।

प्रतिनिधि सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले विद्यमान सामाजिक सुरक्षा कार्यक्रमहरू कटौती नगरेको, बरु थप विस्तार गरेको बताए। उनका अनुसार दलित बालबालिकाका लागि पौष्टिक आहार तथा बीमा सम्बन्धी कार्यक्रमसमेत थप गरिएको छ।

वाग्लेले नगद सहायता मात्र वितरण गरेर दीर्घकालीन रूपमा गरिबी अन्त्य गर्न नसकिने उल्लेख गर्दै नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कृषि आधुनिकीकरण, बीमा, डिजिटल अर्थतन्त्र तथा स्टार्टअप प्रवर्द्धनका कार्यक्रम अघि सारिएको बताए।

उनले आर्थिक वृद्धिको लाभ सबै समुदायसम्म पुर्‍याउन समावेशी अर्थतन्त्र निर्माणमा सरकारले विशेष जोड दिएको बताए। यस क्रममा उनले चीनको उदाहरण दिँदै समावेशी आर्थिक वृद्धिका कारण २०–२५ वर्षको अवधिमा ८० करोडभन्दा बढी मानिस गरिबीबाट माथि उठ्न सफल भएको उल्लेख गरे।

अर्थमन्त्रीले अत्यधिक नगद वितरणले अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिँदै “पैसा मात्र बाँड्न थाल्यौं भने जिम्बावे र भेनेजुएलाजस्तो अवस्था आउन सक्छ” भन्ने धारणा राखे।

उनले नेपालमा पछिल्लो दुई दशकमा गरिबी घट्नुमा सामाजिक हस्तान्तरणभन्दा वैदेशिक रोजगारीबाट आएको विप्रेषण (रेमिटेन्स) को भूमिका ठूलो रहेको उल्लेख गर्दै परिवारको आय वृद्धि हुँदा शिक्षा, स्वास्थ्य, पोषण र समग्र जीवनस्तरमा सकारात्मक सुधार आउने बताए।

प्रतिक्रिया दिनुहोस्