नेपाल–भारतबीच रियल–टाइम क्रस–बोर्डर रेमिटेन्स सेवा सुरु, एभरेस्ट बैंकद्वारा ‘EBL Touch 24’ मार्फत सुविधा
जेष्ठ, २८, काठमाडौं । नेपाल–भारत अन्तर्देशीय फन्ड ट्रान्सफर (P2P) सम्झौतासँगै एभरेस्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘EBL Touch 24’ मार्फत नेपाल र भारतबीच रियल–टाइम क्रस–बोर्डर रेमिटेन्स सेवा औपचारिक रूपमा सुरु गरेको छ।
नयाँ सेवासँगै अब दुवै देशका नागरिकहरूले तत्काल, सुरक्षित र सरल रूपमा रकम आदानप्रदान गर्न सक्ने बैंकले जनाएको छ।
सेवा अन्तर्गत सीमा पनि निर्धारण गरिएको छ। नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म भारत पठाउन सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् भने मासिक सीमा लागू नहुने व्यवस्था रहेको छ।
नयाँ प्रणालीमा प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) प्रयोग गरी रकम पठाउन सकिनेछ। साथै, भारतका प्रयोगकर्ताहरूले युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) मार्फत सिधै रकम प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यो सेवा लागू भएपछि नेपाल–भारतबीचको डिजिटल भुक्तानी प्रणाली अझ सहज, छिटो र औपचारिक हुने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्