प्रधानसेनापतिद्वारा ३७ सैनिकलाई ‘प्रशंसा निशान’ तथा कदर पत्र प्रदान

जेष्ठ, २८, काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलले नेपाली सेनाका ३७ जना सकलदर्जालाई ‘प्रधानसेनापति प्रशंसा निशान’ तथा कदर पत्र प्रदान गरेका छन्।

बिहीबार जङ्गी अड्डामा आयोजित विशेष सुशोभन कार्यक्रममा व्यावसायिक दक्षता र कार्यकुशलता प्रदर्शन गरेका सैनिकहरूलाई सम्मान गरिएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार आफ्नो जिम्मेवारीलाई उच्च पेसागत मर्यादा, व्यावसायिक चरित्र र सैनिक मूल्य–मान्यताअनुसार उत्कृष्ट रूपमा पूरा गर्ने सैनिकहरूलाई कदर स्वरूप यो सम्मान प्रदान गरिएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा विशेष गरी संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा संयमित रहँदै कर्तव्य निर्वाह गर्ने सैनिकहरू यस पटक सम्मानित भएको उल्लेख छ।

सेनाले यस्तो सम्मानले राष्ट्रसेवामा समर्पित सैनिकहरूको मनोबल उच्च बनाउने र संगठनप्रतिको जिम्मेवारी बोध थप मजबुत गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्