बजेट निर्माणका लागि विज्ञसंँग छलफल
चितवन । भरतपुर महानगरपालिकाले विज्ञहरुको सुझावमा गुरुयोजना र सोही अनुसारको आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्न छलफल थालेको छ ।
अन्तर्राष्ट्रियस्तरको महानगरपालिका बनाउने संकल्प लिएको भरतपुर महानगरले व्यवस्थित गुरुयोजना बनाउँदैछ । आउँदो आर्थि वर्षबाट बजेट पनि सोही अनुरुप निर्माण गर्न विज्ञको रायसुझाव लिने काम भइरहेको छ ।
महानगरले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.जगदीशचन्द्र पोख्रेल, शहरी पूर्वाधारविद् डा. सूर्यराज आचार्य र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.सुनिलबाबु श्रेष्ठलाई विज्ञका रुपमा बोलाएर सुझाव लिइरहेको महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिईन् ।
“गुरुयोजना अनुरुपको बजेट निर्माण गर्न विज्ञसँग सुझाव लिइँदैछ,” उनले भनिन् । न्यून बजेटमा दीर्घकालीन र महत्वपूर्ण योजना सम्पन्न गर्नेगरी योजना छनोट गर्ने काम भइरहेको उनको भनाइ छ । सबै हिसाबले उत्कृष्ट महानगर भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी बजेट निर्माणमा ध्यान दिन विज्ञको सहयोग लिन थालेको दाहाल बताईन् ।
भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले महानगरलाई शहरी, मिश्रित र ग्रामीण गरी तीन भागमा विभाजन गरेर नमूना विकासका लागि बजेट निर्माण गर्न विज्ञको सुझाव लिने काम भइरहेकोे बताईन् । महानगरले २९ वटा वडामध्ये २८ वटामा भेला गरी रायसुझाव लिइसकेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले चालु आर्थिक वर्षकोे बजेट रु तीन अर्ब ५० लाख हाराहारी हुने पनि बताए । उनका अनुसार सुशासन र सेवा प्रवाह, सामाजिक विकास, पूर्वाधार क्षेत्र, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकास समिति गठन गरिएको छ । समितिले विज्ञसँग बजेटका लागि छलफल गरिरहेको छ । महानगरले विधेयक समिति निर्माण गरेको छ ।
महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले स्थानीयस्तरका बुद्धिजीवी, विषयगत विज्ञ र सरोकारवालासँग समेत छलफल गरिरहेको बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्