बजेटले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापना गरेको छ : सांसद विदुषी राणा
जेष्ठ, २७ काठमाडौं । सांसद विदुषी राणाले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटले व्यावसायिक वातावरण सुधार, कर प्रणालीमा परिमार्जन तथा निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापना गर्ने काम गरेको बताएकी छन्।
बुधबार अर्थ समितिको बैठकमा बोल्दै उनले कर विवाद, अस्पष्ट नियम, प्रशासनिक ढिलासुस्ती र कानुनी अनिश्चितताका कारण लामो समयदेखि लगानीकर्ता निरुत्साहित हुँदै आएको उल्लेख गर्दै सरकारले ल्याएको सुधार प्याकेजले निजी क्षेत्रलाई राहत दिएको बताइन्।
राणाका अनुसार बजेटले व्यवसाय सञ्चालनको लागत घटाउन सहयोग पुर्याउने र निजी क्षेत्रको मनोबल बढाउने वातावरण सिर्जना गरेको छ। सरकारले अघि सारेका नीतिहरूले राज्य निजी क्षेत्रको विपक्षमा नभई सहयात्री रहेको सन्देश दिएको उनको भनाइ थियो।
उनले मध्यमवर्गीय नागरिकको हातमा थप खर्चयोग्य आम्दानी रहँदा शिक्षा, स्वास्थ्य तथा उपभोगका अन्य क्षेत्रमा खर्च बढ्ने र त्यसले समग्र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताइन्।
स्वदेशी उद्योगको संरक्षणले रोजगारी सिर्जना गर्ने र त्यसमार्फत गरिबी न्यूनीकरणमा समेत योगदान पुग्ने उनले उल्लेख गरिन्।
‘विगत केही वर्षदेखि बजारमा सटर खुलेका थिए, तर ग्राहक थिएनन्। बैंकमा पैसा थियो, तर ऋण लिन आँट र वातावरण थिएन। उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेका थिए,’ उनले भनिन्, ‘यस्तो अवस्थामा यो बजेटले माग, उत्पादन, लगानी र रोजगारीलाई एउटै चक्रमा जोड्ने प्रयास गरेको छ।’
राणाले उद्योगी व्यवसायीहरूले केवल ब्याजदरमा मात्र होइन, बजार र राज्यको समर्थनमा पनि भरोसा खोज्ने बताउँदै बजेटले राज्य अब बिचौलियाभन्दा उत्पादकको पक्षमा रहेको सन्देश दिएको दाबी गरिन्।
उनका अनुसार सयौं औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइनु तथा अन्तःशुल्क हटाइनु औद्योगिक विकासका लागि महत्वपूर्ण नीतिगत कदम हो। कच्चा पदार्थको भन्सार दर तयारी वस्तुभन्दा एक तह कम राख्ने व्यवस्थाले उत्पादन लागत घटाउने र आयात प्रतिस्थापनको नीतिलाई थप प्रभावकारी बनाउने उनले बताइन्।
उद्योग संरक्षणको उद्देश्य सीमित समूहलाई लाभ पुर्याउनु नभई स्वदेशी उत्पादन र श्रमिकको रोजगारी जोगाउनु रहेको पनि राणाले उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्