आर्थिक विधेयकमा भएका संशोधन नियतका आधारमा नहेर्न अर्थमन्त्री वाग्लेको आग्रह
जेष्ठ, २७ काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएका त्रुटि सच्याउने कार्यलाई नियतका आधारमा व्याख्या नगर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बुधबार बोल्दै उनले आर्थिक विधेयकमाथि संसदमा गहन छलफल हुने अपेक्षा भए पनि विषयलाई लिएर कुप्रचार गरिएको दाबी गरे।
उनका अनुसार आर्थिक विधेयक जेठ १५ गते संसदमा टेबल गरिएको थियो र त्यसपछि भाषागत त्रुटि तथा केही प्राविधिक सुधार आवश्यक देखिएपछि प्रचलित प्रक्रिया अनुसार सच्याइएको हो।
अर्थमन्त्री वाग्लेले त्रुटि देखिएपछि कर्मचारीहरूको आग्रह, विगतको अभ्यास तथा स्थापित प्रक्रियाअनुसार संशोधन गरी संसदका महासचिवलाई जानकारी गराइएको बताए। उनले संशोधन जेठ १७ गते नै पठाइएको पनि उल्लेख गरे।
उनका अनुसार अन्तिम स्वीकृत प्रतिमै आवश्यक सुधार गरिएको हो र यस्ता प्राविधिक सुधारहरू सामान्य प्रक्रिया अन्तर्गत पर्ने बताउँदै नियतभन्दा प्रक्रियालाई बुझ्नुपर्नेमा जोड दिए।
वाग्लेले गत वर्ष ७३ वटा विषय सच्याइएको उदाहरण दिँदै यस वर्ष भने तीन–चार वटा मात्र विषयमा सुधार गरिएको बताए। उनले अन्तिम निर्णयकर्ता अर्थमन्त्री नै हुने भएकाले आवश्यक परे जुनसुकै बेला प्राविधिक संशोधन गर्न सकिने अधिकार रहेको स्पष्ट पारे।
बैठकमा उनले विद्युतीय सवारीसाधनको करसम्बन्धी व्यवस्थाबारे पनि स्पष्टिकरण दिएका छन्। रगत तथा भ्याक्सिन बोक्ने सवारीसाधनलाई पहिले ३० प्रतिशत भन्सार लाग्ने वर्गमै राखिएको र त्यसमा प्राविधिक रूपमा स्पष्टता ल्याइएको उनको भनाइ थियो।
५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधनसम्बन्धी व्यवस्थामा पनि आवश्यक सुधार गरिएको उनले बताए।
अर्थमन्त्री वाग्लेले पछिल्ला दिनमा उठेका प्रश्नहरूलाई गलत व्याख्या गरिएको भन्दै प्रक्रियागत रूपमा गरिएको सुधारलाई अनावश्यक रूपमा विवादित नबनाउन आग्रह गरे।
उनले भने, ‘संशोधनको विषय कहाँ राजद्रोह देख्नु भयो, देशद्रोह देख्नु भयो? नियत स्पष्ट छ, प्रक्रिया अनुसार गरिएको हो।’
उनले आफूले त्रुटि पहिचान गरी सच्याएको र विषयलाई ‘चियाको कपमा तुफान’ बनाइएको टिप्पणी गर्दै त्यसको डटेर सामना गर्ने बताए।





प्रतिक्रिया दिनुहोस्