भन्सार दर हेरफेर र पाना गायब भन्ने आरोप भ्रामक : अर्थमन्त्री वाग्ले

जेष्ठ, २७ काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको तथा दस्तावेजबाट पानाहरू गायब भएको भन्ने समाचारहरू भ्रामक र अतिरञ्जित भएको स्पष्ट पारेका छन्।

बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको दाबी गरे। उनका अनुसार प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक रूपमा विवाद बनाइएको हो।

उनले गत वर्ष नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले सच्याएका केही दरहरूलाई यस पटक केवल स्पष्ट पारिएको मात्र बताए।

अर्थमन्त्री वाग्लेका अनुसार रगत र भ्याक्सिन बोक्ने क्यारियरसँग सम्बन्धित भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको हो, जुन मानवीय र प्राविधिक प्रकृतिको विषय भएको उनले बताए।

उनले सञ्चारमाध्यममा आएका समाचारहरूले भ्रम सिर्जना गरेको उल्लेख गर्दै अर्थ मन्त्रालयले गोप्य रूपमा दरहरू परिवर्तन गरेको भन्ने आरोप अस्वीकार गरे।

‘गत वर्ष नेकपा एमाले र नेपाली कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको मात्र हो। रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको छ,’ उनले भने, ‘४५७ पानाको डकुमेन्टमा एउटा कोलमको साइज परिवर्तन हुँदा पानाको संख्या घटबढ हुन सक्छ, तर कन्टेन्टमा कुनै परिवर्तन गरिएको छैन।’

उनले थपे, ‘हामीले संसदमा पेस भएपछि एउटा थोप्लो पनि परिवर्तन गरेका छैनौं। चियाको कपमा तुफान बनाइएको हो, तर वास्तविकता त्यस्तो होइन।’

त्यस्तै, विधेयकबाट १६ पाना गायब भएको भन्ने आरोपबारे स्पष्ट पार्दै उनले माइक्रोसफ्ट वर्डको प्राविधिक पक्षका कारण पाना संख्या फरक देखिन सक्ने बताए।

अर्थमन्त्री वाग्लेले सार्वभौम संसदमा पेस भइसकेको विधेयकमा कुनै अनधिकृत परिवर्तन नगरिएको स्पष्ट पार्दै यस विषयलाई अनावश्यक रूपमा उचालिएको टिप्पणी गरे।

उनले राष्ट्रहित र मानवीय संवेदनशीलताका आधारमा गरिएको कामलाई गलत अर्थमा नबुझ्न आग्रह गर्दै आवश्यक परे थप स्पष्ट पार्न आफू तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्