एपोलो हाइड्रोपावरको सेयर कारोबार सुरू, पहिलो मूल्य २९९.७० रुपैयाँ कायम
जेष्ठ २७ काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आजदेखि दोस्रो बजारमा सुरू भएको छ। कम्पनीको सेयर स्पेसल प्रि–ओपन सेसनमा प्रतिकित्ता २९९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भई नियमित कारोबारका लागि मूल्य निर्धारण गरिएको हो।
कम्पनीको सेयर ‘एपिएचएल’ संकेतमा कारोबारका लागि खुला गरिएको छ। यसअघि सोमबार कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो।
नेप्सेमा कम्पनीका सर्वसाधारणलाई वितरण गरिएको १४ लाख १० हजार कित्ता तथा संस्थापक लगानीकर्ताको ३२ लाख ९० हजार कित्ता गरी कुल ४७ लाख कित्ता सेयर सूचीकृत गरिएको छ।
पहिलो कारोबारका लागि कम्पनीले १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य सीमा (रेञ्ज) प्राप्त गरेको थियो। नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थका आधारमा पहिलो कारोबारका लागि अधिकतम तीन गुणासम्म मूल्य रेञ्ज निर्धारण गर्ने व्यवस्था रहेको छ।
पहिलो कारोबारपछि कम्पनीको सेयर मूल्यमा थप वृद्धि देखिएको छ। कारोबार अवधिसम्म कम्पनीको सेयर मूल्य २.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३०८ रुपैयाँ ६० पैसा पुगेको छ।
सेयर बजारमा सूचीकृत भएसँगै अब एपोलो हाइड्रोपावरका लगानीकर्ताले दोस्रो बजारमार्फत कम्पनीको सेयर खरिद–बिक्री गर्न सक्नेछन्।





प्रतिक्रिया दिनुहोस्