एनएमबी बैंकको एफपिओ आजबाट बिक्री खुल्ला, कति कित्ता सम्म आवेदन गर्न सकिनेछ ?

काठमाडौं । एनएमबी बैंकले आज देखि एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप सार्वजनिक निष्काशन (एफपिओ) को बिक्री खुला गरेको छ ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो ।
बैंकको एफपिओमा यहि जेठ ३० गतेदेखि असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा आवश्यक आवेदन नपरेमा मात्र असार २८ गतेसम्म आवेदन गर्न सकिनेछ ।

लगानीकर्ताले एफपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन गर्न सक्नेछन् ।

आवेदन धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट दिन पाइनेछ । मेरो शेयर प्रयोकर्ताले भने घरमै बसेर इन्टरनेटको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

एफपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब १४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी थपिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस्