१० महिनामा ८ खर्ब ६३ अर्ब रुपैयाँको शोधानान्तर बचत, चालु खातामा पनि उच्च नाफा

जेष्ठ २६ काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको भुक्तानी सन्तुलन (शोधानान्तर स्थिति) ८ खर्ब ६३ अर्ब रुपैयाँले बचतमा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत ४ खर्ब ३८ अर्ब रुपैयाँ रहेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार मुलुकले प्राप्त गर्ने रेमिटेन्स, पर्यटन आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लगायतका स्रोतबाट भित्रिएको रकम बाहिरिएको रकमभन्दा उल्लेख्य रूपमा बढी भएपछि शोधानान्तर स्थिति बलियो बनेको हो।

आर्थिक वर्ष २०७८/७९ को असोजदेखि नेपाल लगातार भुक्तानी सन्तुलन बचतमा रहँदै आएको छ। पछिल्ला वर्षहरूमा रेमिटेन्स आप्रवाहमा भएको तीव्र वृद्धि, पर्यटक आगमनबाट बढेको विदेशी मुद्रा आम्दानी तथा प्रत्यक्ष वैदेशिक लगानीमा सुधारले विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पारेको छ।

यता आयातमा केही वृद्धि भए पनि त्यसको तुलनामा आम्दानीको विस्तार उच्च रहेकाले चालु खाता पनि नाफामै रहेको छ। चालु आर्थिक वर्षको १० महिनासम्म चालु खाता ७ खर्ब २९ अर्ब रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा चालु खाताको बचत २ खर्ब ७२ अर्ब रुपैयाँ थियो।

वार्षिक आधारमा हेर्दा आर्थिक वर्ष २०७९/८० देखि सात वर्षपछि नेपालको चालु खाता पुनः नाफामा फर्किएको हो। यसअघि आर्थिक वर्ष २०७३/७४ देखि लगातार चालु खाता घाटामा रहँदै आएको थियो।

अर्थविद्हरूका अनुसार रेमिटेन्स, पर्यटन र वैदेशिक लगानीबाट हुने आम्दानीको वृद्धि कायम रहँदा तथा आयातको विस्तार नियन्त्रणमा रहँदा नेपालको बाह्य क्षेत्र अझ सुदृढ बन्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्