प्रदेश नं. ७ कोे नीति तथा कार्यक्रम पारित, असार १ मा बजेट प्रस्तुत

काठमाडौं । प्रदेश नं. ७ कोे आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश प्रमुख मोहनराज मल्लले यहि २६ गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि जेठ २७, २८ र २९ गते छलफल पछि आजको बैठकमा निर्णयार्थ पेश भएको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

यसअघि नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले हामी नयाँ अभ्यासमा रहेकाले सिक्दै सिकाउँदै अघि बढ्नुपर्ने अवस्था रहेको परिप्रेक्ष्यमा प्रदेशको विकास र समृद्धिलाई सबैको साझा प्रयासबाट अघि बढाउने सोच सरकारको रहेको धारणा राखेका थिए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम स्पष्ट रहेको र कुनै गोलमटोल नगरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले समयमै बजेट खर्च हुन नसकी आसरमा मात्र आएर खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्न यस सम्बन्धी विधि र कानून निर्माण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलका क्रममा प्रतिपक्षी सदस्यले उठाएको चालु आ.व.को बजेट रकम खर्च सम्बन्धी प्रश्नको जवाफमा मुख्यमन्त्री भट्टले प्रचलित ऐन कानूनको परिधिभित्र रहेर बजेट खर्च भइरहेको र यसको विवरण समयमै आउने बताए ।

नीति तथा कार्यक्रम माथिको बाँकी छलफलमा आज प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, चुनकुमारी चौधरी, अर्चना गहतराज र तारा लामा तामाङले भाग लिएका थिए ।

बैठकको प्रारम्भमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल गरेका थिए ।

आगामी असार १ गते अपराह्न ३ बजे बस्ने अर्को बैठकमा सरकारले आव २०७५/७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्