सोपान फर्मास्युटिकल्सको सेयर कारोबार सुरु, पहिलो मूल्य २७६.५० रुपैयाँ कायम
जेष्ठ, २४ काठमाडौं । सोपान फर्मास्युटिकल्स को सेयर कारोबार आज (सोमबार) देखि दोस्रो बजारमा सुरु भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २७६ रुपैयाँ ५० पैसामा भएको हो। यही मूल्यलाई आधार मानेर नियमित कारोबार सञ्चालन भइरहेको छ।
कम्पनीको सेयर ‘एसओपिएच’ (SOPH) संकेतमार्फत कारोबारका लागि खुला गरिएको छ। कम्पनीको साधारण सेयर (आईपीओ) गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेमा कम्पनीका सर्वसाधारणलाई वितरण गरिएको ४२ लाख ९० हजार कित्ता र संस्थापक लगानीकर्ताको १ करोड २८ लाख ७० हजार कित्ता गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएका छन्।
पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ५० पैसासम्मको मूल्य दायरा प्राप्त गरेको थियो। नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थका आधारमा पहिलो कारोबारका लागि अधिकतम तीन गुणासम्म मूल्य दायरा निर्धारण गर्ने व्यवस्था छ।
कारोबार सुरु भएको दिनमै कम्पनीको सेयरमा सकारात्मक आकर्षण देखिएको छ। कारोबार अवधिसम्म कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३०४ रुपैयाँ १० पैसा पुगेको छ।





प्रतिक्रिया दिनुहोस्