म्यारियट इन्टरनेशनलसँगको सम्झौता नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वसनीय सन्देश: अध्यक्ष विनोद चौधरीले

काठमाडौं, २४ जेष्ठ । नेपालको तर्फबाट विश्का अर्बपति तथा चौधरी ग्रुप (सीजी) का अध्यक्ष विनोद चौधरीले विश्व प्रसिद्ध हस्पिटालिटी ब्रान्ड म्यारियट इन्टरनेशनलसँगको सम्झौता नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वसनीय सन्देश भएको बताएका छन् ।

आइतबार काठमाडौंको भएको चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलबिच काठमाडौँमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो कदम केवल दुई कम्पनीबिचको व्यापारिक साझेदारी मात्र नभएर नेपालको समग्र पर्यटन क्षेत्रकै लागि ऐतिहासिक क्षण भएको स्पष्ट पारे ।

अध्यक्ष चौधरीले यो सम्झौता म्यारियट र हाम्रा लागि जति महत्त्वपूर्ण रहेको बताए । उनले त्यो भन्दा बढी हाम्रो देश नेपालका लागि महत्त्वपूर्ण भएको बताए ।
नेपाल उच्चस्तरीय हस्पिटालिटीका लागि तयार छ । उनले भने,‘ जब विश्वभरिका मानिसहरूले नेपालमा द रिट्ज–कार्लटन र वेस्टिन जस्ता ब्रान्ड आउँदैछन् भन्ने समाचार पढ्नेछन् । यसले नेपाल विश्वस्तरको हस्पिटालिटीका लागि तयार भइसकेको छ भन्ने ठुलो सन्देश दिनेछ ।’

उनले यो साझेदारीले नेपालको कला, संस्कृति र यहाँका नागरिकको विश्वव्यापी छवि प्रवर्द्धनमा समेत ठुलो सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले निकट भविष्यमै जेडब्लु म्यारियट लगायत अन्य प्रख्यात होटल ब्रान्डहरूसँग पनि सम्झौता हुने सङ्केत गरे । अध्यक्ष चौधरीले सीजी हस्पिटालिटीको ३८ वर्ष लामो यात्राको स्मरण गरे ।

सन् १९८६ तिर भारतको ताज ग्रुपसँग नेपालमा काम गर्न खोज्दा प्राविधिक कारणले सम्भव नभएपछि श्रीलंकाको कोलम्बोमा ताज समुद्र मार्फत आफ्नो हस्पिटालिटी यात्रा सुरु भएको उनले सुनाए ।

उनले दुई वर्षअघि सिंगापुरमा भएको फर्मुला वान रेसका क्रममा म्यारियटका डेभिड म्यारियट र राजीव मेननसँग भएको भेटलाई टर्निङ प्वाइन्ट माने ।

‘उहाँहरूको कामप्रतिको लगाव र छिटो निर्णय लिन सक्ने अद्भुत क्षमताले मलाई निकै प्रभावित बनायो,‘चौधरीले भने, ‘त्यही विश्वास र आत्मविश्वासका कारण हामीले द फर्न ब्रान्डका लागि उत्कृष्ट साझेदारी गर्न सफल भयौँ ।’

अध्यक्ष चौधरीले म्यारियट इन्टरनेशनल विश्वकै सबैभन्दा ठुलो हस्पिटालिटी कम्पनी हुनुको पछाडि यसको नेतृत्व र साझेदारप्रतिको सम्मान मुख्य कारण रहेको बताए । ‘१४६ देशमा ९ हजार ९ सयभन्दा बढी होटल र १७ लाख कोठाहरू सञ्चालन गर्नु सामान्य कुरा होइन,‘उनले भने, ‘म्यारियटले संसारकै उत्कृष्ट ब्रान्डहरू मात्र निर्माण गरेको छैन, आफ्ना साझेदारहरूलाई दिने सम्मानकै कारण यो आजको उचाइमा पुगेको हो ।’

ठुला परियोजनामा हातेमालो गर्ने साझेदारहरू आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीप्रति उनले आभार व्यक्त गरे। उनले नेपालको पर्यटनका लागि यस्तो संवेदनशील र महत्त्वपूर्ण समयमा नेपालप्रति विश्वास देखाएको भन्दै म्यारियट इन्टरनेशनल र त्यसको नेतृत्वलाई विशेष धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्