बुटवलमा १० दिने घाँटु नाच प्रशिक्षण सम्पन्न

जेष्ठ २४ काठमाडौं । तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् बुटवल उपमहानगर समितिको आयोजनामा सञ्चालित १० दिने घाँटु नाच प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई शिक्षा, स्वास्थ्यसँगै सांस्कृतिक सहरका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न जातजाति, भाषा र समुदायका लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि उपमहानगरपालिकाले बजेट विनियोजन गर्दै आएको बताए।

कार्यक्रममा परिषद्का बुटवल उपमहानगर समिति अध्यक्ष बुद्धिप्रसाद गुरुङले लोपोन्मुख घाँटु नाचको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जानकारी दिए। उनले कार्यक्रमका लागि आर्थिक सहयोग गरेकोमा बुटवल उपमहानगरपालिकाप्रति आभार व्यक्त गरे।

परिषद्का उपाध्यक्ष वीरबहादुर गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख झपटबहादुर गुरुङ, संरक्षक बिमला गुरुङ, प्रशिक्षक युवराज गुरुङ, तालिम संयोजक लोकमाया गुरुङ, बदेलपोखरी इकाइ अध्यक्ष झलबहादुर गुरुङ, पेलु संघका अध्यक्ष देवेन्द्र गुरुङ, प्रशिक्षार्थी सम्झना गुरुङ तथा वरिष्ठ उपाध्यक्ष उमा गुरुङलगायतले घाँटु नाच संरक्षणको महत्वबारे धारणा राखेका थिए।

कार्यक्रममा लमजुङको चरागाउँस्थित सातकन्या तमु समाजद्वारा संरक्षित घाँटु नाचसहित विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्