नेपाल–भारतबीच प्रत्यक्ष रकम स्थानान्तरण सेवा सुरू

जेष्ठ २४ काठमाडौं । नेपाल र भारतबीच बैंक खातामार्फत सिधै पैसा पठाउन र प्राप्त गर्न सकिने सेवा सुरू भएको छ।

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका हुन्।

भारतको युपिआई (युनिफाइड पेमेन्ट्स इन्टरफेस) र नेपालको राष्ट्रिय भुक्तानी प्रणालीबीचको अन्तर–आबद्धतामार्फत दुवै देशबीच रकम स्थानान्तरण गर्न सकिने व्यवस्था गरिएको हो। यो सेवा नेपाल–भारत क्रस–बोर्डर भुक्तानी सम्झौताअन्तर्गत सञ्चालनमा आएको हो।

सेवा सुरू भएसँगै अब दुवै देशका बैंक खाताबीच सिधै रकम पठाउन सकिनेछ। प्रारम्भिक चरणमा नेपालमा कार्यरत वा अस्थायी रूपमा बसोबास गरिरहेका भारतीय नागरिकले नेपालबाट भारत रकम पठाउन सक्नेछन्।

नेपाल क्लियरिङ हाउसका अनुसार नेपालबाट भारतमा एक पटकमा १५ हजार भारतीय रुपैयाँसम्म र मासिक २ लाख भारतीय रुपैयाँसम्म पठाउन पाइनेछ। त्यस्तै, भारतबाट नेपालमा एक पटकमा २ लाख भारतीय रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरिएको छ।

हाल नेपालका केही बैंकमार्फत यो सेवा उपलब्ध भएको छ।

यसअघि भारतीय पर्यटकहरूले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा पाइसकेका छन्। तर नेपालबाट भारत जाने नेपालीहरूले भारतीय क्यूआर प्रणालीमार्फत भुक्तानी गर्ने सुविधा भने अझै पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्