नेपाल–भारतबीच डाइरेक्ट डिजिटल पैसा ट्रान्सफर सेवा सुरु

जेष्ठ, २४ काठमाडौं । नेपाल र भारतबीच अब एक–अर्काको देशमा बैंक खाताबाट सिधै पैसा पठाउन र प्राप्त गर्न सकिने क्रस–बोर्डर डिजिटल भुक्तानी सेवा सुरु गरिएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्री डा. सुब्रमन्यम जयशंकरले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका हुन्।

यो सेवा भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (NPI) प्रणालीबीचको अन्तरआबद्धता मार्फत सञ्चालनमा आएको हो। २०८० सालमा भएको क्रस–बोर्डर भुक्तानी सम्झौताको कार्यान्वयनस्वरूप यो सेवा सुरु गरिएको बताइएको छ।

नयाँ व्यवस्थासँगै अब भारत र नेपाल दुवै देशका बैंक खाताबाट सिधै रकम पठाउन सकिनेछ। प्रारम्भिक चरणमा नेपालमा कार्यरत वा अस्थायी रूपमा बसोबास गरिरहेका भारतीय नागरिकहरूले यो सेवा प्रयोग गर्न सक्नेछन्।

नेपाल क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानका अनुसार, भारतीय नागरिकले प्रतिपटक १५ हजार भारूसम्म पठाउन सक्नेछन् भने नेपालबाट भारत जाने प्रयोगकर्ताले प्रति महिना २ लाख भारूसम्म ट्रान्सफर गर्न सक्ने व्यवस्था गरिएको छ।

हाल दैनिक वा मासिक ट्रान्सफरको स्पष्ट सीमा तोकिएको छैन। प्रारम्भिक चरणमा करिब आधा दर्जन नेपाली बैंकमार्फत यो सेवा उपलब्ध हुनेछ।

यसअघि नै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूले QR कोडमार्फत भुक्तानी गर्न सक्ने सुविधा पाइसकेका थिए। नयाँ प्रणालीले अब दुवै देशबीचको डिजिटल भुक्तानीलाई अझ सहज र प्रत्यक्ष बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्