मन्त्री बस्नेत कीर्गिस्तान प्रस्थान

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत कीर्गिस्तानमा आयोजना हुने हिमचितुवा पाइने मुलुकको वन तथा वातावरणसम्बन्धी स्थायी समिति बैठकमा भाग लिन मंगलवार त्यसतर्फ प्रस्थान गर्भरेका छन् ।

यही जेठ ३१ देखि असार १ गतेसम्म हुने उक्त वार्षिक नियमित बैठकको मन्त्री बस्नेतले अध्यक्षता गर्ने छन् । नेपाल, भारत, चीन, भूटान, पाकिस्तान, अफगानिस्तान, मंगोलिया, रुस, काजकिस्तान, उज्वेस्तान, कीर्गिस्तान, ताजकिस्थानलगायत मुलुकमा हिमचितुवा पाइन्छ ।

उक्त बैठकबाट विश्वमै लोपोन्मुखको सूचीमा रहेको हिमचितुवाको संख्या गणना गर्नेबारे निर्णय हुन सक्ने अपेक्षा गरिएको छ । हालसम्म विश्वमै हिम चितुवाको संख्या यकिन हुन सकेको छैन ।

हिम चितुवाको बारेमा अध्ययन अनुसन्धान गरिरहेका वैज्ञानिक र नीति निर्मातासँगको छलफलपछि बैठकले हिमचितुवाको गणनासम्बन्धी निर्णय लिने मन्त्री बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्