१ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी, सुरक्षा चुनौती बढ्यो : गृह सचिव

काठमाडौं । आसन्न प्रतिनिधि सदस्य एव प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु भएको छ । गृहसचिव मोहनकृष्ण सापकोटाले उम्मेदवारमाथि लक्षित गरी विभिन्न स्थानहरुमा भएका आक्रमणले सुरक्षा चुनौती बढेको बताए ।

शनिबार बिराटनगरमा भएको १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठीका विशिष्ट अतिथि समेत रहेका गृहसचिव सापकोटाले परिणाममुखी सुरक्षा प्रदान गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिए । गृहसचिव सापकोटाले सुरक्षा समितिलाई निर्देशन दिंदै भने, “ श्रोत, साधन र निर्देशन अभावको बहाना बनाएर नपन्छिकन प्राप्त अधिकार पूर्ण प्रयोग गरेर सुरक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्नु ।” उनले विश्वका जुनसुकै देशका सुरक्षा योजनामा पनि केही न केही स्रोत साधनको कमजोरी हुने गरेको बताउँदै प्राप्त अधिकार जिम्मेवार भएर प्रयोग गरेमा सरकारले बनाएको तीन घेरे सुरक्षा योजना पूर्ण सफल हुने सामेत बताए ।

गृहसचिव सापकोटाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि सुरक्षा योजना तयार पारिएको बताउदै निर्वाद रुपले निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न सवैलाई आग्रह गरे ।
सचिव सापकोटाले निर्वाचनका लागि अब सीमित समयमात्र बाँकी रहेकाले सरकार र नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न सुरक्षाकर्मीहरु उच्च मनोवलका साथ लाग्नुपर्ने बताए ।

कार्यक्रममा निर्वाचनलाई दृष्टिगत गरी जिल्लाको सुरक्षा व्यवस्थापनको अवस्था र विद्यमान चुनौतीका बारेमा सुरक्षा समितिका संयोजक रहेका सम्वन्धित प्रमुख जिल्ला अधिकारीले आफनो समग्र शान्ति सुरक्षाको अवस्थाको जानकारी दिने कार्यक्रम छ । सो कार्यक्रममा चारैवटा सुरक्षा अंगका प्रमुखहरुको सहभागि छन् ।

त्यसगरी क्षेत्रीय प्रशासकसहित पूर्वका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागिता थिए । कार्यक्रमको उद्घाटन निर्वाचन आयोगका अयुक्त नरेन्द्र दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्