डिजिटल भुक्तानीमा मूल्य सिर्जना गर्न बैंक र फिनटेकलाई युनियनपेको सुझाव

जेष्ठ, २२ काठमाडौं।औ चोङ वेई (क्याल्भिन) ले बैंक तथा वित्तीय संस्थाहरू डिजिटल भुक्तानी इकोसिस्टममा केवल भुक्तानी स्वीकार्ने माध्यममा सीमित हुन नहुने बताएका छन्।

नेपाल फिनटेक कनक्लेभ २०२६मा बोल्दै उनले संस्थाहरूले आफूलाई सामान्य वितरण च्यानलका रूपमा मात्र सीमित राखे दीर्घकालीन रूपमा मूल्य सिर्जना गर्न नसक्ने बताए। उनका अनुसार बैंकहरूले आफ्नो विश्वास, कोष व्यवस्थापन र ट्रेजरी सेवाको विशेषज्ञता उपयोग गर्नुपर्छ भने फिनटेक कम्पनीहरूले ग्राहक संलग्नता र प्रयोगकर्ता अनुभव सुधारमा केन्द्रित हुनुपर्छ।

वेईले विश्वव्यापी भुक्तानी सञ्जालहरूले स्थानीय प्रणालीलाई अन्तरसञ्चालन, सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डमार्फत थप सुदृढ बनाउन सक्ने धारणा राखे। रणनीतिक सफलता साधारण कामबाट नभई उच्च मूल्यका समस्या समाधानबाट प्राप्त हुने उल्लेख गर्दै उनले शाखामा पुगेर कागजातमा हस्ताक्षर गर्नुपर्ने प्रक्रियाको सट्टा मोबाइलमार्फत विद्युतीय ग्राहक पहिचान (ई–केवाईसी) जस्ता समाधानलाई बढी प्रभावकारी उदाहरणका रूपमा प्रस्तुत गरे।

उनका अनुसार युनियनपेले ‘सञ्जालहरूको सञ्जाल’का रूपमा काम गर्दै स्थानीय भुक्तानी प्रणालीलाई विश्वव्यापी पहुँचसँग जोडिरहेको छ। थाइल्याण्ड र लाओसमा राष्ट्रिय भुक्तानी स्विच निर्माण तथा साझा पुरस्कार र क्यासब्याक प्रणाली विकासले स्थानीय डिजिटल इकोसिस्टम विस्तारमा योगदान पुर्‍याएको उनले बताए।

वेईले भुक्तानी सञ्जालमा आबद्ध हुँदा स्थानीय व्यापारीहरूले अन्तर्राष्ट्रिय ग्राहकबाट सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्ने र यसले पर्यटन तथा व्यापार दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए।

उनले लेनदेन डेटाको प्रभावकारी उपयोगलाई डिजिटल अर्थतन्त्रको सबैभन्दा ठूलो अवसरका रूपमा व्याख्या गर्दै त्यसबाट व्यापारीको कर्जा मूल्यांकन सुधार गर्न सकिने बताए। कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर बैंकहरूले थप प्रभावकारी रूपमा कर्जा प्रवाह गर्न सक्ने उनको भनाइ थियो।

डेटा नयाँ युगको सबैभन्दा महत्वपूर्ण स्रोत बनेको उल्लेख गर्दै उनले एआईमार्फत ग्राहकको खर्च गर्ने बानी र स्थानको विश्लेषण गरी लक्षित छुट, सेवा तथा उत्पादन उपलब्ध गराउन सकिने बताए। यसले बिक्री वृद्धि र सेवा विस्तारमा सहयोग पुग्ने उनको विश्वास छ।

वेईले कृत्रिम बौद्धिकता केवल ठूला बजेट भएका संस्थाहरूको पहुँचमा रहेको धारणा गलत भएको बताउँदै खुला प्रविधिका कारण साना तथा ठूला दुवै संस्थाले यसको समान रूपमा उपयोग गर्न सक्ने अवसर पाएको उल्लेख गरे।

भविष्यको भुक्तानी प्रणाली ‘एजेण्टिक इ–कमर्स’तर्फ उन्मुख रहेको बताउँदै उनले ग्राहकको निर्देशनअनुसार एआई एजेन्टहरूले स्वतः खरिद प्रक्रिया सम्पन्न गर्ने प्रविधिको विकास भइरहेको जानकारी दिए। यस्ता प्रणालीमा विश्वास, सुरक्षा र पारदर्शिताका लागि विशेष संरचनागत व्यवस्था आवश्यक पर्ने उनको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा वेईले डिजिटल रूपान्तरणको सफलता केवल प्रविधिको उपलब्धतामा नभई संस्थागत सोच, नेतृत्व र स्पष्ट दृष्टिकोणमा निर्भर रहने उल्लेख गर्दै सही मानसिकता र रणनीतिले नै दिगो वृद्धि सम्भव हुने बताए।

प्रतिक्रिया दिनुहोस्