‘आईटी माफिया’बाट मुक्त भई प्रविधिमा आत्मनिर्भर बन्न बैंकहरूलाई अनुप पुरोहितको सुझाव
जेष्ठ, २२ काठमाडौं। अनुप पुरोहितले बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमाथिको आफ्नै नियन्त्रण सुदृढ नगरेसम्म बाह्य सफ्टवेयर प्रदायकमाथिको निर्भरता अन्त्य नहुने बताएका छन्। उनले बैंकहरू ‘आईटी माफिया’को प्रभावबाट मुक्त हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपाल फिनटेक कनक्लेभ २०२६मा बोल्दै पुरोहितले सामान्य प्राविधिक परिवर्तन वा सुधारका लागि समेत बाह्य सफ्टवेयर कम्पनीहरूमा निर्भर रहँदा बैंकहरूले अनावश्यक खर्च र ढिलासुस्ती बेहोर्नुपरेको बताए।
उनले बैंकहरूले आफ्ना विभिन्न प्रणालीबीच सहज अन्तरसम्बन्ध कायम गर्ने संरचना विकास गर्नुपर्ने र प्रयोग भइरहेका सफ्टवेयरको मूल स्रोत तथा प्रविधिमाथि पर्याप्त नियन्त्रण राख्नुपर्ने धारणा व्यक्त गरे। यसले प्रविधि विकासको गति बढ्नुका साथै नयाँ सेवा तथा उत्पादन विस्तार गर्न सहज हुने उनको भनाइ थियो।
पुरोहितका अनुसार बैंक र फिनटेक कम्पनीहरू प्रतिस्पर्धी नभई सहयात्री हुन्। बैंकहरूले वित्तीय स्रोत, नियामकीय दायित्व र उत्पादन व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने हुँदा फिनटेक कम्पनीहरूले ग्राहकमैत्री सेवा विकास र प्रयोगकर्ता अनुभव सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
उनले धेरै बैंकहरूको प्रविधि संरचना अझै पुरानो रहेको उल्लेख गर्दै विभिन्न प्रणालीहरूबीच प्रभावकारी समन्वय नहुँदा नयाँ सेवा विकास र विस्तारमा चुनौती देखिएको बताए।
भविष्यको बैंकिङ कृत्रिम बौद्धिकता (एआई)मा आधारित हुने उल्लेख गर्दै उनले कर्जा मूल्यांकन, जोखिम विश्लेषण तथा ग्राहक सेवाजस्ता क्षेत्रमा एआईको प्रयोग तीव्र रूपमा विस्तार हुने बताए। एआईले निर्णय प्रक्रियालाई छिटो, प्रभावकारी र तथ्यमा आधारित बनाउन सहयोग पुग्ने उनको धारणा थियो।
बैंकहरूले अत्यधिक जटिल र भारी प्रविधि संरचनाको सट्टा सरल, लचिलो र भविष्यका आवश्यकताअनुसार रूपान्तरण गर्न सकिने प्रणाली निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए। नेपालसँग पुराना प्रविधिको लामो चरण पार गर्नुपर्ने बाध्यता नरहेको र सिधै आधुनिक डिजिटल प्रविधितर्फ फड्को मार्ने अवसर रहेको उनको भनाइ थियो।
पुरोहितले भविष्यमा बैंकिङ सेवा परम्परागत शाखामा मात्र सीमित नरहने उल्लेख गर्दै फिनटेक कम्पनी तथा अन्य व्यावसायिक संस्थाहरू बैंकिङ सेवा र उत्पादन ग्राहकसम्म पुर्याउने महत्वपूर्ण माध्यम बन्ने बताए।
डिजिटल बैंकिङ विस्तारसँगै ठूलो मात्रामा हुने कारोबार व्यवस्थापन गर्न सक्षम पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गर्दै उनले उच्च क्षमतायुक्त भुक्तानी व्यवस्थापन प्रणाली विकासमा विशेष ध्यान दिन आग्रह गरे।
उनका अनुसार यी सबै परिवर्तन सफल बनाउन बैंक सञ्चालक समिति र उच्च व्यवस्थापनको स्पष्ट रणनीति आवश्यक छ। प्रविधिलाई खर्चको विषयका रूपमा मात्र नभई व्यवसाय विस्तार, नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमताको प्रमुख आधारका रूपमा हेर्नुपर्नेमा उनले जोड दिए। साथै बैंक पहिचान प्रणाली र अन्तरसम्बन्धित बैंकिङ संरचनालाई राष्ट्रिय डिजिटल पूर्वाधारसँग एकीकृत गर्न सके बैंकिङ क्षेत्र, फिनटेक उद्योग र समग्र अर्थतन्त्रले लाभ लिन सक्ने उनको निष्कर्ष थियो।




प्रतिक्रिया दिनुहोस्