विद्युत् महसुल घटाउनुपर्नेमा उल्टो भ्याट थपियो : कुलमान घिसिङ
जेष्ठ, २२ काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत् महसुल घटाउनुपर्ने अवस्थामा उल्टो भ्याट थपेर महँगी बढाउने नीति लिएको आरोप लगाएका छन्।
शुक्रबार पार्टीको युवा तथा विद्यार्थी विभागद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै घिसिङले सरकारले विद्युत् उपभोग महँगो बनाउने निर्णय गरेको भन्दै आलोचना गरेका हुन्।
उनले आफू नेपाल विद्युत् प्राधिकरणको प्रमुख हुँदा घाटामा रहेको अवस्थामा पनि तीन पटक गरी करिब २५ प्रतिशत विद्युत् महसुल घटाइएको स्मरण गरे। उक्त कटौतीले करिब २५ अर्ब रुपैयाँ बराबरको प्रभाव परे पनि प्राधिकरण नाफामा गएको दाबी उनले गरे।
घिसिङका अनुसार देशमा जलविद्युत् उत्पादन बढ्दै गएकाले अब विद्युत् सस्तो हुनु पर्ने अवस्था छ। तर सरकारले उल्टो विद्युत्मा पाँच प्रतिशत भ्याट लगाएर उपभोक्ता र उद्योग दुवैलाई असर पार्ने नीति अपनाएको उनको आरोप छ।
उनले भारतमा विद्युत्मा भ्याट नलाग्ने उदाहरण दिँदै नेपालमा लागू गरिएको करले औद्योगिक उत्पादन महँगो भई अन्ततः महँगी बढ्ने बताए।
त्यसैगरी, शेयर कारोबार, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि करको भार बढाइएको भन्दै उनले सरकारले निम्न र मध्यम वर्गलाई बेवास्ता गरेको टिप्पणी गरे।
घिसिङले वर्तमान बजेट उच्च मध्यम र धनी वर्गको हितमा केन्द्रित भएको आरोप लगाउँदै दुई तिहाइ बहुमतको सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताए।




प्रतिक्रिया दिनुहोस्