विश्व वातावरण दिवसमा दुई संस्था सम्मानित, हरित विराटनगर अभियानलाई थप प्रभावकारी बनाइने

जेष्ठ, २२ काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने दुई संस्थालाई सम्मान गरेको छ। साथै महानगरले हरित विराटनगर अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

शुक्रबार महानगर परिसरमा आयोजित विशेष कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवर्द्धन तथा समुदायस्तरमा वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएका ‘गो ग्रिन विराटनगर’ र ‘सुनौलो अवसर युवा क्लब’लाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गो ग्रिन विराटनगरका नविनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई खादा, माला तथा सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको प्रशंसा गरे।

सम्मान कार्यक्रममा बोल्दै मेयर कोइरालाले वातावरणीय संकट विश्वकै साझा चुनौती बनेको उल्लेख गर्दै यसको समाधानका लागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। पछिल्ला वर्षहरूमा बढ्दो तापक्रम, अनियमित वर्षा र प्रदूषणका कारण वातावरणीय जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले प्रत्येक घर, विद्यालय, उद्योग तथा संघसंस्थाले वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

“हरित वातावरण बिना दिगो विकास सम्भव छैन। आज रोपिएको एउटा बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा, शीतल वातावरण र सुरक्षित भविष्य दिन सक्छ,” मेयर कोइरालाले भने।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरलाई व्यवस्थित, स्वच्छ र हरित सहरका रूपमा विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए। वातावरणीय सुधारलाई महानगरको दीर्घकालीन विकास रणनीतिसँग जोडेर अघि बढाइने उनले जानकारी दिए।

वातावरण शाखा प्रमुख इन्जिनियर राकेश ठाकुरले वातावरण संरक्षणका क्षेत्रमा नागरिक सहभागिता बढाउन महानगरले विभिन्न सचेतनामूलक तथा हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको बताए। जलवायु परिवर्तनका असर न्यूनीकरणमा स्थानीय तहको भूमिका झन् महत्वपूर्ण बन्दै गएको उनको भनाइ थियो।

यसअघि वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न संघसंस्था, युवा समूह तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा महेन्द्रचोकबाट प्रभातफेरी निकालिएको थियो। वातावरणमैत्री जीवनशैली, फोहोर व्यवस्थापन, वृक्षारोपण र जलवायु सचेतनासम्बन्धी सन्देश बोकेको प्रभातफेरीले नगरवासीको ध्यान वातावरणीय मुद्दातर्फ आकर्षित गरेको थियो।

कार्यक्रममा सेन्ट मेरिज विद्यालयका विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए। वातावरण संरक्षणमा सक्रिय पूजा विश्वासले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।

विराटनगर महानगरपालिकाले वातावरण संरक्षणमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्दै हरित क्षेत्र विस्तार, प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण तथा दिगो शहरी विकासलाई आगामी दिनमा थप प्राथमिकताका साथ अघि बढाउने जनाएको छ। महानगरको यस पहलले वातावरणीय उत्तरदायित्वप्रति नागरिक सहभागिता बढाउनुका साथै हरित र स्वच्छ विराटनगर निर्माण अभियानलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्