सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन मन्त्रालयको आह्वान

जेष्ठ, २२ काठमाडौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर अभिलेख अद्यावधिक नभएका निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन वा आफ्नो विवरण अद्यावधिक गराउन आह्वान गरेको छ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अध्ययन बिदा र असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई अनिवार्य रूपमा तीन दिनभित्र आफ्नो विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो।

सूचनामा तोकिएको अवधिभित्र अभिलेख अद्यावधिक नगरिए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

मन्त्रालयले नेपाल सरकारअन्तर्गतका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई पनि आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण यकिन गर्न आग्रह गरेको छ।

त्यस्तै, बिदा अवधि समाप्तिपछि सम्बन्धित कर्मचारी हाजिर भए वा नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी तीन दिनभित्र अभिलेख अद्यावधिक गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कर्मचारी प्रशासनलाई व्यवस्थित, पारदर्शी र अभिलेख प्रणालीलाई अद्यावधिक राख्ने उद्देश्यले उक्त कदम चालिएको हो।

प्रतिक्रिया दिनुहोस्